इच्छुक स्मृति दिवसमा सहभागी वक्ताहरुको साझा धारणाः क्रान्तिकारी पत्रकार एकतामा जोड(भिडियोसहित)

हत्याको छानबिन र अपराधिलाई कारवाही गर्न माग

काठमाडौं । आजभन्दा ठिक १५ बर्षअघि तत्कालिन राज्यद्धारा माओवादी जनयुद्धमा संलग्न भएको आरोप लगाउँदै पक्राउ गरेर निर्ममतापूर्वक हत्या गरिएका पत्रकार, साहित्यकार एवं कवि सहिद कृष्णसेन इच्छुकको स्मृति दिवसमा आज आयोजित कार्यक्रमका सहभागि वक्ताहरुले विभाजित भएका सबै क्रान्तिकारी पत्रकारहरुको एकतामा जोड दिएका छन ।

हिजोसँगै समाज बदल्ने अभियानसहित जनयुद्धमा सहभागि भएका सम्पूर्ण माओवादी पार्टी निकटका पत्रकार संघ, संगठनहरुको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित प्रभातफेरी कार्यक्रममा सहभागि पत्रकार नेताहरुले त्यस्तो बताएका हुन ।

नेकपा माओवादी केन्द्र निकटको प्रेस सेन्टर, क्रान्तिकारी माओवादीको क्रान्तिकारी पत्रकार महासंघ, नेपाल कम्युनिष्ट पार्टीको क्रान्तिकारी पत्रकार संगठन र नयाँ शक्ति पार्टी नेपालको प्रेस सोसाइटी लगाएतका पत्रकार संबद्ध संघ, संगठनहरुको संयुक्त आयोजनामा आज बिहान वानेश्वर चोकबाट माइतिघर मण्डलासम्म प्रभातफेरी गरिएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले राज्यले कलमजिवि पत्रकारहरुमाथिको आक्रमण रोक्नुपर्ने बताए । उनले सहिद पत्रकार इच्छुकले देखाएको बाटोमा सबै पत्रकारहरु एकताबद्ध भएर हिड्नु नै यस दिवसको महत्वपूर्ण सन्देश भएको बताए ।

त्यसैगरी उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस सेनटरका वरिष्ठ उपाध्यक्ष गोबिन्द आचार्यले इच्छुकको स्मृति दिवसले उनका हत्याराहरुलाई कारवाहीको माग गरराखेको बताए । उनले राज्यले पत्रकारमाथि गरिएको जघन्य अपराधको विरोध गर्दै घटनाको सत्य, तथ्य जानकारी सहित दोषिहरुलाई कारवाही गर्न माग समेत गरे ।

आचार्यले इच्छुकले देखेको सपना र उनको वास्तविक सम्मान क्रान्तिकारीहरुबीचको एकताबाट मात्र सम्भव भएको भन्दै विभाजित भएका सम्पूर्ण क्रान्तिकारी पत्रकारहरुलाई यस दिवसले एकतामा आउन सन्देश दिएको बताए ।

उक्त कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले पनि माओवादी पार्टीको विभाजनबाट अलग भएका पत्रकारहरु एक ठाउँमा आएर सहिदको बाटोलाई पच्छ्उनुपर्नेमा जोड दिए ।

अध्यक्ष राउतले हिजोसँगै जनयुद्ध लडेको एउटा शक्तिले राज्यको बागडोर संचालन गरिरहेको अवस्थामा समेत इच्छुक जस्ता धेरै सहिदहरुका अपराधिलाई कार्वाही नगरिनु र त्यो घटनाको विषयलाई ओझेलमा पार्नुले सहिदको सपनामा तहिएको दाबी गरे । उनले सहिदले देखाएको क्रान्तिको बाटोमा विचार सहितको एकता र आपसि सहयोगका लागि सबै क्रान्तिकारी पत्रकारहरु जुट्नुपर्ने संकेत आजको दिनले गरेको बताए।

क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउनेले पनि क्रान्तिकारी पत्रकारहरुको एकतामा जोडदिदै सहिदले देखाएको क्रान्तिको बाटोमा हिड्नुपर्ने धारणा राखें । अध्यक्ष चलाउनेले माओवादी केन्द्रका अध्यक्ष नै सरकारको नेतृत्वमा रहेकाबेला हिजो माओवादीका नाममा रगत बगाएकाहरुले न्याय नपाएको प्रति आक्रोस समेत ब्यक्त गरे ।

उनले पत्रकार इच्छुकलाई तत्कालिन राज्यले जसरी हत्या गरेको थियो, त्यो प्रवृति अहिलेको सरकारसँग पनि रहेको जिकिर गर्दै भने–‘अहिले पनि क्रान्तिकारी भएकै कारण पत्रकारहरुमाथि राज्यले दमन गरेको छ । विभिन्न जिल्लाबाट पत्रकारहरुलाई पक्राउ गरिएको छ । यो कस्तो बिडमबना हो ?’

कार्यक्रममा प्रेस सोसाइटी, प्रेस चौतारी, प्रेस युनियन लगायतका पत्रकार संवद्ध संघ, संगठनहरुका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमा सहभागि वक्ताहरुले पत्रकारहरुको पेशागत हक,हित र अधिकारको लडाईका लागि एकताको आवश्यकता औल्याएका थिए।

पत्रकार इच्छुकलाई तत्कालिन सरकारले २०५९ साल जेठ ६ गतेका दिन काठमाडौंबाट गिरफ्तार गरेर १३ गते निर्ममतापूर्वक उनको हत्या गरेको थियो । काठमाडौं प्रहरी प्रमुखमा त्यतिबेला बिक्रमसिंह थापा रहेका थिए । तर उनको हत्या भएको बषौ बित्दासम्म पनि अपराधिहरुको खोजि नहुनु र दोषिलाई उन्मुक्ति दिनुले सबै पत्रकारहरुलाई दुखि तुल्याएको छ ।

त्यसैगरी आज सहिद पत्रकारक इच्छुकको सम्झनामा ११ बजे अनामनगर स्थित संवाद डबलीमा अखिल नेपाल जनसाँस्कृतिक महासंघ र दिउँसो १ बजे इच्छुक प्रतिष्ठानले अन्तरक्रिया र सम्मान कार्यक्रमको आयोजना समेत गरेको जनाएको छ ।

LOADING...