सहमतीय सरकार नबन्ने पक्का

दलहरु बहुमतको नयाँ सरकार बनाउन तयार

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएको भोलिपल्ट, सात दिन भित्र सहमतिका आधारमा सरकार गठनका लागि राजनीतिक दलहरुलाई आह्वान गरेकी थिईन्।

आलोपालो सरकारको नेतृत्व गर्ने नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको भद्र सहमति अनुसार भएको भन्दै प्रधानमन्त्री प्रचण्डले पदत्याग गरे पछि व्यवस्थापिका संसदका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले सहमतिको सरकार बन्ने संभावना न्यून रहेको बताएका छन्।

सहमतिको सरकार बन्न नसकेमा संसदमा मतदान मार्फत बहुमतीय सरकार बनाउने प्रकृया थालिने छ।
संविधानको धारा २९८ को उपधारा २ बमोजिम ७ दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

व्यवस्थापिका संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रसले सहमतीय सरकार बनाउन प्राप्त सात दिनको समयपछि संसदमा हुने मतदानको आधारमा बहुमतको नयाँ सरकार बनाउन तयार रहेको बताएको छ।

नेपाली काँग्रसका नेता तथा गृहमन्त्री बिमलेन्द्र निधिले भने, संविधान संशोधन विधेयक जस्ता महत्वपूर्ण विषयमा नेकपा एमाले सहमत छैन। तर माओवादी केन्द्र लगायत सरकारमा भएका दलहरुको समर्थन हामीलाई अहिले छ, त्यसैले हामीसंग बहुमत छ।

नेपाली काँग्रेसले बोकेको राजनीतिक कार्यसूचीमा नेकपा एमालेले साथ नदिएकोले एमालेसंग मिलेर सहमतिको सरकार बन्न सक्ने संभावना नभएको नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री निधिले बताए।

सरकारले स्थानीय तहको संख्या बढाएको विरोधमा संसदको बैठक अवरोध गर्दै आएको प्रतिपक्षी दल नेकपा एमालेले पनि संवैधानिक प्रावधान अनुसार राष्ट्रपतिले गरेको आह्वान अनुसार सहमतिको सरकार बन्ने सम्भावना नदेखेको बताएका छन ।