इजिप्टद्वारा लिबियाका ‘जिहादी शिविर’मा हमला

२८ जनाको मृत्यु, २५ घाइते

इजिप्ट । कोप्टिक ईसाईहरुलाई लक्षित गरी आक्रमणहरु भएपछि इजिप्टको फौजले आतंकवादीहरुका तालिम केन्द्रविरुद्ध हमलाहरु गरेको इजिप्टका राष्ट्रपति अब्दुल फतेह अल सीसीले बताएका छन्।

सरकारी सञ्चारमाध्यमले छिमेकी लिबियाको सीमा क्षेत्रमा अवस्थित डेर्ना शहरमा ६ वटा आक्रमण गरिएको जनाएका छन्।

त्यसअघि बन्दुकधारीहरुले मध्य इजिप्टमा ईसाई धर्मावलम्बीहरु चलेको एउटा बसमा आक्रमण गर्दा कम्तीमा २८ जना मारिएका थिए भने २५ घाइते भएका थिए। राष्ट्रपति सीसीले जहाँसुकै रहेका आतंकवादी शिविरहरु विरुद्ध आक्रमण गर्न आफू पछि नहट्ने बताएका छन्।

शुक्रबार अबेर टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले दुष्टहरुबाट आफ्ना जनतालाई बचाउने वाचा गरे। आतंकवादविरुद्धको लडाइँलाई साथ दिइरहेका देशहरुलाई दण्ड दिन नहुने भन्दै उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई सहयोगका लागि आग्रह गरे।(अन्तराष्ट्रिय सञ्चारमाध्मबाट)