राजपाले आन्दोलन घोषणाः समाजवादी फोरम र लोकतान्त्रिक फोरम प्रभावित

काठमाडौं । दोस्रो चरणको चुनाव बिथोल्ने गरी राजपाले आन्दोलन घोषणा गरेकै दिन सर्वोच्च अदालतले स्थानीय तहको संख्या बढाउन नमिल्ने अन्तरिम आदेश दिएपछि अरू दुई मधेसी घटक पनि दबाबमा परेका छन् ।

मागबमोजिम संविधान संशोधन नभए पनि चुनावी तालमेलमार्फत एजेन्डा स्थापित गर्ने रणनीतिमा लागेका संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमलाई यस्तो दबाब परेको हो ।

फोरम अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक फोरम अध्यक्ष विजयकुमार गच्छदारले बिहीबार राजपा नेता महन्थ ठाकुरको निवासमै पुगेर चुनावमा सँगै मिलेर जान प्रस्ताव गरे पनि ठाकुरले अस्वीकार गरेका थिए ।

सर्वोच्चको अन्तरिम आदेशसँगै मधेसी घटकको माग सम्बोधन हुने गरी गच्छदार संयोजक रहेको सरकारी समितिले वैशाख २९ गते गरेको २२ स्थानीय तह थप्ने निर्णय अलपत्र परेको छ ।

सर्वोच्चले चुनावी कार्यक्रम अघि बढिसकेको अवस्थामा संख्या थपघट गर्नु कानुन र आचारसंहिताविपरीत हुने उल्लेख गरेको छ । मधेसी घटकले भने राजनीतिक सहमति भत्किएर चुनाव नै हुन सकेन भने ‘केको आचारसंहिता’ भनी प्रश्न उठाएका छन् । यो समाचार आजको कान्तिपु्रमा प्रकाशित छ ।