दुर्घटनामा परी साउदीमा श्रीमानको मृत्यु

नाबालक छोरा र श्रीमतीको विचल्ली

प्यूठान । प्युठान नगरपालिका ८ धर्मावती रानीकाम्लाका विक्रम एमसी गत वर्षको माघ २४ गते रोजगारीका लागि साउदी अरव पुगेका थिए।

१४ वर्ष भारतमा मजदुरी गरेका उनी थोरै,धेरै भएपनि पैसा कमाउने आशाले साउदी पुगेका हुन। आफ्नो नाममा भएजतिको जग्गा सदरमुकाम खलंगास्थित कृषि विकास बैंकमा धितो राखेर उनी साउदी उडेका थिए।

दुई लाख २० हजार रुपैयाँ उनलाई विदेश जाँदा लागेको ऋण छ। घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएपछि बाध्यताले धितोमा जग्गा राखेर विदेश पुगेका थिए।

विदेश जाँदा लागेको ऋण तिरेर घरको आर्थिक अवस्था सुधारौँला भन्ने आशाले खाडीमुलुक पुगेका विक्रमका तीन महिना नपुग्दै सबै सपना ‘चकनाचुर’ भए। गत वैशाख ३० गते उनको साउदीमै गाडी दुर्घटनामा परी मृत्यु भयो।

साउदी अरबको दमामस्थित ‘अल एमअल ट्रान्सपोटेसन इस्ट’ नामक कम्पनीका लागि ‘ट्रक ड्राइभर’को भिसामा उनी त्यहाँ पुगेका थिए । मालिकको गाडी चलाउने क्रममा उनको निधन भएको परिवारले जनाएका छन्। यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।