एमाले राष्ट्रिय सहमतिको सरकारको पक्षमा छः अध्यक्ष ओली (भिडियोसहित)

‘तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी अहिले पनि राष्ट्रिय सहमतिको सरकार गठनका पक्षमा उभिएको बताएका छन ।

एमालेको विरोधका कारण आज संसद बैठक चल्न नसकेपछि संसद भवनबाट बाहिरीने क्रममा अध्यक्ष ओलीले पत्रकारहरुसँग कुराकानी गर्दै त्यस्तो बताएका हुन ।

अध्यक्ष ओलीले अहिले सरकार विहीनताको अवस्था सिर्जना भएको भन्दै त्यसले निर्वाचनको कार्यक्रमलाई प्रभावित पार्न सक्ने प्रति संकेत गरे । राष्ट्रपतिले दिएको सात दिनको अवधिमा राष्ट्रिय सरकार गठन गर्नुपर्नेमा उनको जोड थियो ।

ओलीले नेकपा एमाले मुलुकका सम्पूर्ण समस्याहरुको समाधानको पक्षमा रहेको भएपनि सरकारले अनावश्यक निर्णय गर्ने, संसदमा विभिन्न प्रस्तावहरु ल्याउने गरेका कारण बाध्यताबस संसद अवरोध गर्नुपरेको तर्क गरेका छन ।

उनले आफुहरु चाडै सदन चलोस भन्ने पक्षमा रहेपनि सरकार त्यसको लागि तयार नभएको आरोप लगाए । उनले दोश्रो चरणको स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा गरेर निर्वाचनबारे अन्यौलता बढाएको बताए ।

सरकार विहीनताको अवस्था अन्त्य गर्दै तोकिएकै मितिमा निर्वाचन गर्नुपर्ने बताउँदै उनले भने–‘अहिले कस्ले निर्वाचन गर्ने भन्ने नै थाहा छैन, तर हाम्रो कुरा निर्वाचन कुनैपनि बाहनामा सार्न हुदैन भन्ने हो । त्यसका लागि राष्ट्रिय सहमतिको सरकारको आवश्यकता छ, त्यसमा एमाले खुला छ ।’

कस्को नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन्छ, भन्ने पत्रकारहरुको जिज्ञासामा जवाफ दिदै उनले भने–‘कस्को भन्दा पनि जस्को पक्षमा समर्थन जुट्छ, त्यसको नेतृत्वमा सरकार गठन हुन्छ ।’

LOADING...