सिन्धुलीका एक युवा हत्या अभियोगमा पक्राउ

प्रहरी अनुसन्धान जारी

ललितपुर । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि गोदावरीमा खटेका म्यादी प्रहरी हत्याको अभियोगमा एकजना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नम्वर–१२ घर भई हाल ललितपुरको गोदावरी–९ छम्पी बस्ने कुमार पाख्रिनलाई हत्याको अभियोगमा पक्राउ गरिएको हो ।

अभियुक्त पाख्रीनले यही जेठ ८ गते सोमवार राति छम्पीमै बस्ने जिल्ला दलित संघ ललितपुरका उपाध्यक्ष ५५ वर्षीय दीपक परियार घर फर्किदै गर्दा तीन घट्टेमा पुगेपछि ढुङ्गा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

दिउँसोको डिउटी सकेर घर फर्किरहेका म्यादी प्रहरी पाख्रिन र उपाध्यक्ष परियारबीच भेट भएपछि साँझसँगै बसेर मदिरा सेवन गरी दुवै घर फर्किएका थिए ।

प्रहरी परिसर ललितपुरका प्रवक्ता ईश्वर कार्कीका अनुसार मदिरा सेवन गरी सँगसँंगै घर फर्किने क्रममा दुईजना बीच बटोमा विवाद बढ्दै गएपछि पाख्रिनले परियारको टाउकोमाथि एक्कासी र्इँट्टा प्रहार गरेका थिए ।

उपाध्यक्ष परियारको मृत्यु भएपछि पाख्रिन राति घरमा पुगेर सुतेको र विहान डिउटीमा गएको भनाइ प्रहरीको छ । नौ गते विहान परियारको शव फेला परेपछि तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली तीन दिनपछि पाख्रिनलाई पक्राउ गर्न सफल भएको हो ।