झापामा माओवादी केन्द्रले गर्यो उम्मेदवारी घोषणा

स्थापित नेताहरुलाई उम्मेदवार बनाएको दावी

झापा। दोस्रो चरणको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा माओवादी केन्द्रले झापाको शिवसताक्षी नगरपालिका र गौरदह नगरपालिकामा आज मेयर उपमेयर सहित सम्पुर्ण टिम घोषणा गरेकोे छ।

आदिवासी समुदायकी नेतृ कचाली ताजपुरियालाई उपमेयर पदको उम्मेदवार वनाइएको छ। मेयर उपमेयर सहितको ११ वडाका सम्पुर्ण अध्यक्ष र सदस्य सहितको टिम आज एक भब्य समारोहका विच घोषणा गरिएको हो।

विगतका धरमपुर,सतासी,शिवगञ्ज र पाँचगाछी सहितका चार गाविस मिलेर वनेको शिवसताक्षी नगरपालिकामा महेन्द्र भट्टराईलाई मेयरको उम्मेदवार घोषणा गरिएको छ। अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिव समेत रहेका सतासी निवासी भट्टराई लोकप्रिय युवा नेता मानिन्छन् ।

दुधे वजारमा आयोजित उम्मेदवार घोषणा कार्यक्रममा माओवादी केन्द्रका १ नं प्रदेश संयोजक सावित्रीकुमार काफ्ले,जिल्ला इन्चार्ज झलकसिंह दर्लामी,अखिल(क्रान्तिकारी)का उपाध्यक्ष रञ्जित तामाङ सहितको उपस्थिति रहेको थियोे ।

यसैगरी माओवादी केन्द्रले नौ वटा वडा रहेको गौरादह नगरपालिकामा आजै एक समारोहका विच पुष्पलाल ढकाललाई मेयर र अर्पणा राजवंशीलाई उपमेयर पदको उम्मेदवार घोषणा गरेको छ। स्थापित समाजसेवीको छवि बनाएका ढकाल गौरादहमा लोकप्रिय युवा नेता मानिन्छन्।

गौरादह वजारमा आयोजित उम्मेदवार घोषणा कार्यक्रममा माओवादी केन्द्रका झापा संयोजक विजय साङपाङ् अखिल(क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेत,गौरादह इन्चार्ज हुकुम नेपाली लगायतले शुभकामना मन्तब्य राखेका थिए।