२२ स्थानको निर्वाचन तेस्रो चरणमा

काठमाडौं । निर्वाचन आयोगले सरकारद्वारा थप भएका २२ वटा तहमा जेठ ३१ गते निर्वाचन गर्न नसक्ने स्पष्ट गरेपछि ती स्थानमा तेस्रो चरणमा निर्वाचनको सम्भावनाबारे राजनीतिक वृत्तमा छलफल सुरु भएको छ ।

पूर्वनिर्धारित जेठ ३१ गतेको स्थानीय तह दोस्रो चरणको निर्वाचन पर सार्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको आग्रह अस्वीकार गर्दै निर्वाचन आयोगले दोस्रो चरणमा पहिले नै तय भएका ४ सय ६१ तहमा मात्र चुनाव गर्न सकिने स्पष्ट गरेको हो ।

सरकारले केही दिनअघि मात्र थप गरेका तराई मधेसका जिल्लाका २२ तहको निर्वाचन भने जेठ ३१ गते गर्न नसकिने आयोगले स्पष्ट गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको समेत उपस्थितिमा भएको छलफलमा प्रचण्डले मधेसकेन्द्रित दललाई देखाएर चुनाव पर सार्न आग्रह गरेका थिए । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।