दोस्रो चरणको निर्वाचन पुरानै संरचना अनुसार हुनुपर्छः ओली

भक्तपुर । नेकपा (एमाले) ले आगामी जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचन पुरानै संरचनाअनुसार हुनुपर्नेमा जोड दिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा हिजो बसेको स्थायी कमिटी बैठकले बजेट तथा नीति कार्यक्रमबारे छलफल गर्नुपर्ने बेलामा स्थानीय तह थप्ने र सीमाङ्कन हेरफेर गर्ने सरकारको निर्णयले दोस्रो चरणको निर्वाचन नै ओझेलमा परेको ठहर गरेको छ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले प्रचार विभाग प्रमुख एवम् पार्टी सचिव योगेश भट्टराईले निर्वाचनको सङ्घारमा प्रधानमन्त्रीको राजीनामाले झन् अन्योल थपेको बताए।

सरकारले हालै गरेको सीमाङ्कन हेरफेर असंवैधानिक र नियम कानुनको मर्म विपरीत रहेको बैठकले ठहर गरेको बताउँदै उनले दोस्रो चरणको निर्वाचन पुरानै संरचना अनुसार हुनुपर्नेमा जोड दिए। यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।