प्रधानमन्त्रीले बुधबार पदबाट राजीनामा

आफु सफल प्रधानमन्त्री भएको दावी

काठमाडौं । दस महिनाअघि नेपाली कांग्रेससँग गठबन्धन बनाई पालैपालो नेतृत्व गर्ने लिखित समझदारी र हालैका सार्वजनिक अभिव्यक्तिलाई सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार प्रधानमन्त्री पदबाट राजीनामा गरेका छन ।

मंगलबार नै व्यवस्थापिका संसद्मार्फत राजीनामा घोषणा गर्ने दाहालको योजनालाई प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध गर्ने चेतावनी दिएर असफल बनाएपछि सञ्चारमाध्यममार्फत जनतालाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन ।

सम्बोधनलगत्तै दाहालले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका थिए । राष्ट्रपति भण्डारीले दाहालको राजीनामा स्वीकृत गरेकी छन ।

करिब आधा घन्टा लामो सम्बोधनमा दाहालले नाम नलिईकन प्रमुख प्रतिपक्षी दल एमालेविरुद्ध आक्रोश पोख्नुभयो । एमाले आफूविरुद्ध बद्नियतसाथ खनिएको तर आफूले एउटा सफल प्रधानमन्त्रीका रूपमा मुलुकको राजनीतिलाई उच्च हैसियत दिलाउन सफल भएको दाबी उनले गरे ।

प्रधानमन्त्रीले आफ्नो सम्बोधनमार्फत भने–‘‘मलाई यत्ति थाहा छ, यो निर्वाचनमा संघीय लोकतान्त्रिक गणतन्त्रले जित्यो र समग्रमा राष्ट्रले जित्यो । अब गणतन्त्र, सामाजिक न्यायसहितको लोकतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी शासन प्रणाली थप संस्थागत भएको छ । नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता र स्वाभिमान थप सुनिश्चित भएको छु ।’ यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।