नयाँ प्रधानमन्त्री छिटोमा ९ दिन पछि

काठमाडौं । सरकार गठन सम्बन्धी संबैधानिक व्यवस्था र संसदीय अभ्यासका कारण प्रधानमन्त्री पुष्पकमल दाहालले कम्तिमा नौ दिन कामचलाउ सरकारको नेतृत्व गर्ने निश्चित देखिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजिनामा दिएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई अर्को मन्त्रीपरिषद् गठन नभएसम्मका लागि कामचलाउ तोकेकी छन् ।

सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले राजनीतिक दलहरुलाई आह्वान गर्दै सात दिनको समय दिने अभ्यास छ । संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुबीच सरकार गठनमा सर्वसम्मतिको संभावना विरलै छ । विगतमा प्रमुख दलहरुको सहमतिमा बनेका सरकार समेत संसदको बहुमतकै आधारमा चुनिएका छन् ।

संविधानसभाबाट जारी भएको संविधानअनुसार अब बन्न लागेको तेस्रो सरकार हो । संक्रमणकालीन व्यवस्था अन्तर्गत संविधानको धारा २९८ मा मन्त्रिपरिषद् गठन सम्बन्धी व्यवस्था छ ।

संविधान प्रारम्भ भएको मितिले सात दिन भित्र राजनीतिक सहमतिका आधारमा र त्यसो हुन नसके संसदको बहुमतका आधारमा मन्त्रिपरिषद गठन सम्बन्धी प्रावधान छ ।यो समाचार आजको कान्तिपु्रमा प्रकाशित छ ।