नेताहरूको भनाभनले संसद् स्थगित

काठमाडौं । तराई मधेसका जिल्लामा स्थानीय तहको संख्या थप गर्ने सरकारको निर्णयलाई लिएर प्रमुख दलका शीर्ष नेताबीच भनाभन हुँदा संसद् बैठक स्थगन भएको छ ।

संसद् नचलेपछि संसद्मा सम्बोधनमार्फत पदबाट राजीनामा दिने तयारी गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामाको घोषणा गर्न पाएनन् ।

संविधान र कानुन विपरीत सरकारसँग भएको सहमति भत्काएर सरकारले रातारात तराई मधेसका जिल्लामा २२ वटा स्थानीय तह थप गरेको भन्दै एमालेले संसद् अवरोधको चेतावनी दिएपछि विभिन्न चरणमा भएका छलफलमा मुख्य नेताहरू खासगरी कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भनाभन भएको थियो ।

मंगलबार बिहान ११ बजे बोलाइएको संसद् बैठक दिउँसो १ बजे सारिएको थियो । सहमति नजुटेपछि ३ बजे, ५ बजे हुँदै साँझ ७ बजेलाई तोकिए पनि सहमति नजुटेकै कारण सभामुख ओनसरी घर्तीमगरले सूचना टाँसेर आज ११ बजेसम्मका लागि बैठक स्थगन गरेकी छन । यो समाचार आजको अन्नपूर्णमा प्रकाशित छ ।