मोटरसाइकलमा सवार दुई गम्भीर घाइते

बस चालक प्रहरी नियन्त्रणमा

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ स्थित मुसेखोलामा सोमबार बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजना गम्भीर घाइते भएका छन् ।

काठमाडौँबाट पोखरा आउँदै गरेको ना ६ प २५५० नं को बसले दमौलीबाट डुम्रे जाँदै गरेको ग १० प ८७३८ नं को भिआर मोटरसाइकललाई ठक्कर दिँदा उनीहरु घाइते भएका हुन् ।

ठक्करबाट गम्भीर घाइते हुनेमा व्यास–२ का मोटरसाइकल चालक १९ वर्षीय विष्णु सुनार र पछाडि सवार १८ वर्षीय सचिन सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेमध्ये विष्णु सुनारको दाहिने खुट्टा छिनेको छ । उनको गोलीगाँठो भन्दा तलको भाग छुट्टिएर सडकमा खसेको थियो ।

घाइते ती दुवै जनाको रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मेट्रोसिटी अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ । बस चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रासस