तीन सयभन्दा बढी गैडाको खाग जलाएर खरानी

चितवन । विश्व सम्पदासूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा सोमबार दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाका साढे तीन सयभन्दा बढी खाग जलाएर नष्ट गरिएको छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मरिसकेका वन्यजन्तुको अंग नष्ट गर्ने निर्णय गरेअनुसार गैंडाको खाग, छाला, बाघको छाला, हड्डीलगायत आखेटोपहार जलाएर नष्ट गरिएको हो ।

कसरास्थित श्रीजंग गणको खेलमैदानमा १५ मिटर लामो, पाँच मिटर चौडा र एक मिटर अग्लो भट्टीमा आखेटोपहार जम्मा गरी दाउरा र कोइला बालेर नष्ट गरिएको छ ।

आगो लगाएर नष्ट गरिएका आखेटोपहारमा गैंडाको खाग तीन सय ५७ वटा, बाघको छाला ६७ थान, चितुवाको छाला चार सय १८ थान, ध्वाँसेचितुवाको छाला दुई थान, हिउँचितुवाको छाला एक थान, कस्तुरीको बिना ३४ वटा, हाब्रेको छाला ४७ थान, भालुको पित्त १५ वटा, हात्तीको पुच्छरका रौं तीन सय ५४ वटा, चिरुको ऊन ४२ पोका, सालकको खपटा दुई पोकार जरायोका सिङ छन् ।

यसअघि २०५४ साल चैतमा आखेटोपहार जलाएर नष्ट गरिएको थियो । यो समाचार आजको अन्नपूर्णमा प्रकाशित छ ।