प्रचण्ड पदबाट राजीनामा दिन तयार

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिने छलफल भइरहेको अवस्थामा छिमेकी राष्ट्र चीनले भने उनको निरन्तरता हुनु पर्ने संकेत गरेको छ ।

बेइजिङस्थित उच्च राजनीतिक स्रोतलाई उद्धृत गर्दै नेपालसँग भगिनी सम्बन्ध गरेको चीनको साङ्सी प्रान्तस्थित नेपाली दूत राजीव झाले चीनले प्रचण्ड नेतृत्वको सरकारको निरन्तरता चाहेको बताए ।

झाले टेलिफोनमा भने–‘ओबीओआरमा देखाएको चासो, चीनसँग अघिल्ला सरकारसँग भएका सहमति कार्यान्वयनमा देखाएको दृढतालगायतका कारण देखाउँदै चीनले अझै केही समय प्रचण्डलाई नै नेपालको प्रधानमन्त्रीको रुपमा देख्न चाहेको छ ।’

सोमबार बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकमा प्रचण्डले भने- ‘निष्ठाको राजनीति मरेर गएको वेला इमानदारिता देखाउन पनि राजीनामा गर्न लागेको हुँ । माओवादीले विश्वासको राजनीति गर्नुपर्छ । राजीनामापछि यसले राजनीतिक विश्वास मात्र बढाउँदैन, पार्टीको इमेजमा पनि सकारात्मक सन्देश जान्छ ।’

प्रचण्डले पदबाट राजीनामा दिन तयार भएको बताए पनि कांग्रेसले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।