डा. लोहनीको पार्टीमा जनजातिदेखि वकिलसम्म, हेर्नुहोस को को थपिए

आठ पदाधिकारी, दुई केन्द्रीय सदस्य मनोनित, पार्टीको आकार बढ्दै

काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले पाँच जनालाई उपाध्यक्ष, दुई जनालाई महामन्त्री, एक सह प्रवक्ता र दुई जनालाई केन्द्रीय सदस्य गरी दश जनालाई मनोनयन गरेको छ ।

एकिकृत राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको विधानबमोजित ८ जनालाई पदाधिकारी र अरु दुई जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको जनाएका हुन्।

अध्यक्ष लोहनीद्धारा जारी गरिएको विज्ञप्ति अनुसार तारानाथ लुईँटेल, ऋषिबाबु परियार, बृजलाल यादव, मीनबहादुर कुँवर र अधिवक्ता विष्णु भट्टराईलाई उपाध्यक्षमा बनोनयन गरिएको छ । त्यसैगरी श्याम तिमल्सिना र भरतजंग उप्रतीलाई महामन्त्रीमा र प्रकाशचन्द्र सुवेदीलाई सह प्रवक्तामा मनोनयन गरिएको छ ।

त्यस्तै उज्ज्वल पोख्रेल र श्याम लामालाई केन्द्रीय सदस्यमा समेत मनोनयन गरिएको जनाइएको छ । कमल थापा नेतृत्वको राप्रपासँग सम्बन्ध बिच्छेद गरी नयाँ पार्टी गठन गरेको छोटो अबधिमै उनको पार्टीमा सदस्यहरु थपिने क्रम जारी रहेको छ।

राप्रपा राष्ट्रवादीका एक नेताका अनुसार पार्टीमा दिनहुँ नयाँ सदस्य थपिने गरेका छन । अहिले पार्टी अध्यक्ष डा. लोहनीलाई सदस्य भित्र्याउने कामले असाध्यै बेस्त गराएको छ ।