आतंकवादविरुद्धको लडाई असल र खराबबीचको लडाई होः अमेरिकी राष्ट्रपति

अतिवाद अन्त्य गर्नु पर्नेमा जोड

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मुस्लिम देशहरुले अतिवादविरुद्धको लडाइँको नेतृत्व लिनुपर्ने बताएका छन्। आफुले अतिवादको अन्त्य गर्न चाहेको समेत बताएका छन ।

ट्रम्प शनिबार साउदी अरेबियाको रियादमा मुस्लिम बहुल मुलुकहरुको क्षेत्रीय सम्मेलनको कार्यक्रममा बोल्दै आफूहरुले अमेरिकी जीवनशैली अन्य राष्ट्रमाथि थोपार्न नचाहेको बताएका छन।

अमेरिका शान्ति, सुरक्षा र समृद्धि भएको मुलुक भन्दै अतिवाद अन्त्य गर्नुपर्ने विचार भएका मुलुकहरुसँग सम्झौता गर्न आवश्यक रहेको बताएका छन । ट्रम्पले शान्तिपूर्ण वातावरणमा हुर्किन पाउनु हरेक मुस्लिम बालबालिकाको अधिकार भएको उल्लेख गरेका छन।

ट्रम्पले भने–‘आतंकवादविरुद्धको लडाइँ फरक आस्थाहरुबीचको लडाइँ होइन बरु यो असल र खराबबीचको लडाइँ हो।’ ट्रम्पले आफू अमेरिकी जनताका तर्फबाट मित्रता र मायाको सन्देश लिएर त्यहाँ पुगेको बताए।