तराईमा २० स्थानीय तह थप गर्ने गच्छदारको प्रस्ताव राजपाबाट अस्वीकार

काठमाडौंमधेसकेन्द्रित दलहरूलाई दोस्रो चरण निर्वाचनमा सहभागी गराउन सरकारले स्थानीय तहवृद्धिको प्रस्ताव ल्याए पनि राष्ट्रिय जनता पार्टी नेपालसहितका मधेसी शक्तिले अस्वीकार गरेका छन् ।

आइतबार राति स्थानीय तह थपसम्बन्धी मन्त्रीस्तरीय तीन सदस्य र कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टीलगायत दलका सांसदबीचको बैठकमा उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले तराईमा २० वटासम्म स्थानीय तह थप गर्न सकिने प्रस्ताव राखेका थिए ।

यद्यपि राजपासहित मधेसी शक्तिले गच्छदारको प्रस्ताव अपूरो र अवैज्ञानिक रहेको भन्दै अस्वीकार गरिदिएका थिए । मन्त्री गच्छदारले आफूले आइतबार बिहान मात्र कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्ष्पकमल दाहालसँग परामर्श गर्दा २० तह थप्न सहमत भएको संकेत पाएको जानकारी दिएका थिए ।

फोरम नेपाल संसदीय दलका प्रमुख सचेतक शिवजी यादवले गच्छदारको प्रस्तावप्रति आपत्ति जनाउँदै राजपाका प्रतिनिधिहरूले सहमतिअनुसार जनसंख्याका आधारमा स्थानीय तह निर्धारण हुनुपर्ने माग गरेका छन । यो समाचार आजको अन्नपूर्णमा प्रकाशित छ ।