मुलुककै अग्ला पुल परिसरमा आधुनिक शौचालय निर्माण

 पर्वत। व्यवस्थित शौचालयको अभावमा दुर्गन्धित बन्दै गएका मुलुककै दुई अग्ला झोलुङ्गे पुल परिसरमा आधुनिक शौचालय निर्माण सुरु भएको छ ।

पर्वत सदरमुकाम कुश्माबजारस्थित बडागाउँ–कैया झोलुङ्गे पुल वडागाउँ–मुडिकुवा झोलुङ्गे पुलमा आउने आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणका लागि सार्वजनिक शौचालय निर्माण सुरु गरिएको हो ।

जिल्ला समन्वय समिति, पर्वत अन्तर्गत पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनाको सात लाख २४ हजार ६४६ रुपैयाँको लागतमा सार्वजनिक शौचालय निर्माणको काम सुरु गरिएको इन्जिनियर दिनेश तिमिल्सिनाले जानकारी गराएका छन्।

उक्त आधुनिक शौचालयको ५० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ ।“जिल्ला विकास समितिको रु चार लाख ५० हजार र बाँकी रकम समितिले नै जुटाएर सर्वसाधारण तथा पर्यटकका लागि सार्वजनिक शौचालय निर्माण गर्न लागिएको तिमिल्सिनाले बताए ।” 

कुश्मा नगरपालिकाले आवश्यक रकम दिने प्रतिबद्धता जनाएको भए पनि सम्झौता भने भइसकेको छैन । नगरपालिकाले आर्थिक सहयोग नगरेको अवस्थामा निर्माण समिति आफैले रकम जुटाएर शौचालय भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने छ ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रुपमा विकास हुँदै गरेका मुलुककै अग्ला पुलमा व्यवस्थिति शौचालय नहुँदा पुल परिसरमा फोहरको डङ्गुर बढ्दै गएको थियो ।

सोही अवस्थालाई मध्यनजर गर्दै शौचालय सरसफाइ गर्ने कर्मचारीका लागि आवास र अन्य पूर्वाधार निर्माण गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

उक्त पुलमा दैनिक दुईदेखि १० हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि आउने गरेका छन् । विद्यार्थीको शैक्षिक भ्रमणको क्रममा भने २० हजारसम्म पुग्ने गरेको स्थानीय व्यवसायीको भनाइ छ । रासस