मर्मत सम्भारका लागि स्वाथ्य मन्त्रालयबाट जिल्ला अस्पताललाई ६० लाख

२४ घन्टा फार्मेसी सेवा सञ्चालन गर्ने तयारी

नवलपरासी । नवलपरासीको सबैभन्दा पुरानो एक जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालले मन्त्रालयबाट विनियोजन गरेको रु ६० लाख रकमबाट मर्मत सम्भारको काम सुरु गरेको छ ।

अस्पतालको अन्तरङ्ग, बहिरङ्ग र आकस्मिक कक्षसहित शल्यक्रिया कक्षको मर्मत सम्भारको काम सुरु गरेको जिल्ला पृथ्वीचन्द्र अस्पताल व्यवस्थापन समिति, परासीका अध्यक्ष सन्तोषकुमार श्रीवास्तवले बताए।

सरकारको निर्णयअनुसार १५ श्यैयाबाट क्षमता विस्तार गरी ५० श्यैयाको अनुमति पाएको जिल्ला अस्पताल यतिबेला २४सै घन्टा फार्मेसी सेवा सञ्चालन गर्ने तयारीमा जुटेको छ ।

अस्पतालका लागि मन्त्रालयबाट रु ६० लाख बजेट विनियोजन भएको थियो । विनियोजन भएको उक्त रकमबाट मर्मत सम्भार तथा सुधार भई चालु आ.व.भित्रै उपलब्धिमूलक काम गरिने अस्पतालले जनाएको छ ।

अस्पतालभित्र दिइने सेवा सुविधाका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेकामा उक्त रकमबाट केही राहत हुने बताइएको छ ।

भौतिक संरचना कमजोर भएका कारण जिल्ला अस्पताललाई व्यवस्थित गराउन आफूलाई निकै चुनौती रहेको अस्पताल व्यवस्थापन समिति, परासीका अध्यक्ष श्रीवास्तवले बताए। रासस