अमेरिकी गुप्तचर सञ्जाल सीआइएको खुफिया सञ्चार प्रणाली चीनद्धारा ह्याक गरेको आशंका

सीआइएलाई ध्वस्त बनाउन खोजिएको आरोप

अमेरिका । विगतमा दुई वर्षको अवधिमा चीनले १८ देखि २० जना सीआइएका अमेरिकी गुप्तचर सूत्रहरुलाई मारेको वा कैद गरेर गुप्तचरी सञ्जाल ध्वस्त बनाउन खोजेको हुन सक्ने आरोप लागाइएको छ ।

अमेरिकी लोकप्रिय पत्रिका न्यूयोर्क टाइम्सले सीआइएका अमेरिकी गुप्तचरसुत्र ध्वस्त बनाउन खोजेको सम्बन्धी त्यस्तो समाचार प्रकाशन गरेपछि अमेरिकामा त्यस्तो आशंका चुलिएको हो ।

अमेरिकी अधिकारीहरुले सो पत्रिकासंग बोल्दै उक्त घटना दशकौंयता अमेरिकी गुप्तचर सुरक्षाले बेहोरेको सबभन्दा खराब क्षति भन्दै त्यसलाई विगतमा सोभियत युनियनका निम्ति अमेरिकी गोपनीयता भंग गरिदिएका सीआइएका एल्ड्रिक एम्स र एफबीआइका रोबर्ट हानसेनको घटनासंग तुलना गरेका छन्।

सन् २०११ को शुरुदेखि सीआइएका गुप्तचर सूत्र त्यहाँ हराउन थालेका थिए। कम्तीमा एकजनालाई सरकारी कार्यालयमै उनका समकक्षीहरुका सामुन्ने गोली हानिएको बताइन्छ।

कतिपयले चीनले सीआइएको खुफिया सञ्चार प्रणाली ह्याक गरेको हुनसक्ने भनेका छन् भने कतिपयले चाहिं चीनका निम्ति कोही अमेरिकी गुप्तचरले नै सन् २०१० ताका ती सूचना चुहाइदिएको हुनसक्ने ठानेका छन्। तर ती दुवै मध्ये कुनैपनि शंकालाई स्पष्ट प्रमाणित गर्न सकिएको देखिन्न।

सन् २०१२ सम्म आइपुग्दा अमेरिकाको एउटा महत्वपूर्ण खुफिया सञ्जाल करिब करिब पूर्णतया ध्वस्त भएको छ ।
तर सीआइएले ती रिपोर्टबारे केही टिप्पणी गरेको छैन।

वर्षौं लगाएर सूचना संकलनका निम्ति निर्माण गरिएको सञ्जालमा सामेल २० जना सम्म सूचना प्रवाहक खुफिया सूत्रहरुलाई ती दुई वर्षको अवधिमा चिनियाँ सरकारले मारिदिएको या कैद गरिदिएको उक्त समाचारपत्रले उल्लेख गरेको छ।

चारजना पूर्व सीआइए अधिकारीहरुले उक्त समाचारपत्रसंग बोल्दै चिनियाँ कर्मचारीतन्त्रको भित्री तहमा रहेका सूचनाका सूत्रहरुबाट आइरहने सूचना सन् २०१० मा लगभग रोकिन थाल्यो भनेका छन्।

सन् २०११ को शुरुदेखि ती सूत्र हराउन थालेको भन्दै सीआइए र एफबीआइले हनी ब्याजर गोप्य नाम दिइएको अनुसन्धान थाले। पत्रिकाका अनुसार शंकाको केन्द्रमा एक पूर्व सीआइए अधिकारी थिए तर उनी विरुद्ध प्रमाण भेटिएन। उनी हाल एक अर्को एसियाली देशमा बस्छन्।

त्यतिखेर अनायास चीनसम्बन्धी खुफिया सूचना आउने क्रम बन्द भएपछि ओबामा प्रशासनले के भएको भनी प्रश्न समेत गरेको जनाइएको छ। (अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुबाट)