विदेश जाने लोभमा ठगिए युवा

दलालले खायो २४ लाख

काठमाडौं । दाङ घोराहीकी अञ्जु डाँगी जागिर गर्दै स्नातक पढिरहेकी थिइन् । एक्कासी लमहीका तीन युवाले अस्ट्रेलिया जाने सपना देखाइदिए ।

चिनजानका प्रवीन भुसाल र बिक्रम कौशडियाले आफूहरू अस्टे«लियामा आइसकेको बताउँदै सामाजिक सञ्जालमा म्यासेज पठाउँथे ।

अस्ट्रेलिया आउने भएमा राम्रो मान्छे (डाक्टर, रातो पासवर्ड भएको, ३९ मुलुक हेर्ने, इन्डियामा बसेर काम गर्ने) चिनेको बताएपछि अञ्जु र उनको ठूलो ममीको छोरीको मनमा अस्ट्रेलिया जाने भूत चढ्यो ।

दलालसँग चिनजान गराउने काम लमहीकै अमित कौशडियाले गरे । उनले दिल्ली हुँदै अस्ट्रेलिया पुगेर फर्किसकेको बताएका थिए । तर, वास्तवमा तीनै जना अस्ट्रेलिया गइसकेका थिएनन् ।

प्रवीन र बिक्रमले दिल्लीमा बसेर अस्ट्रेलियामा रहेको अभिनय गरिरहेका रहेछन् । दिदीबहिनी युवाको विश्वासमा परिसकेका थिए । अञ्जुलाई पछिमात्र थाहा भयो, उनीहरू पनि सोही दलालको फन्दामा परेर दिल्लीमा रहेछन् ।

गत साउनमा अञ्जु र उनको दिदी कागजपत्र र पैसा बोकेर अमितसँग दिल्लीको पहाडगन्ज पुगे । त्यहाँ थिए, धनुषा नकटाजिझा गाविस वार्ड नम्बर ७ का शत्रुधन महतो । उनी ठगी धन्दामा धनपति महतोलगायत नामबाट चिनिने गरेको पीडितको भनाइ छ ।

अञ्जुले दलाललाई कागजपत्र बुझाइन, अनि नबिल बैंकको खातामा तीन लाख रुपैयाँ जम्मा पनि गरिदिइन् । लगत्तै तीन लाख ८० हजार रुपैयाँ थपिदिएको उनी बताउँछिन् ।

केही दिनपछि भिसा आएको खबर दिइयो । पैसा धनपतिको अकाउन्टमा नहाली ह्यान्डक्यास दिन आग्रह गरियो । अञ्जु अमितसँग दिल्ली गइन, १७ लाख रुपैयाँ धनपतिको हातमा राखिदिइन् । उनीहरूलाई दिल्लीको होटलमा बसालियो । दलाल महतोले बारम्बार भिसा आउँदैछ भन्दै नाटक गर्न थाल्यो ।

होटेलमा बसेको पनि सात महिना पुग्न थाल्यो, साथमा भएको पैसा पनि सकियो । होटेलवाला किचकिच गर्न थाल्यो । धनपति पनि उनीहरूबाट ‘कन्ट्याक्ट लेसु हुन थाल्यो । केटी भएकाले अपहरण गरेर कोठीमा बेचिदिने भन्दै धम्काउन थाल्यो ।

‘दिल्लीस्थित नेपाली एम्बेसीमा पनि उसकै मान्छे रहेछन्, हामीले एम्बेसीमा गरेको उजुरी धनपतिले थाहा पाइहाल्थ्योु शुक्रबार बुद्धनगरस्थित वैदेशिक रोजगार विभागमा भेटिएकी अञ्जुले भनिन्उ–‘सले उजुरी गरेको थाहा पाएपछि झनै धम्काउँथ्यो, केटी भएकाले बेचिदिनेजस्ता धम्की दिन्थ्यो ।’

दलालले २४ लाख खाइदियो, अस्ट्रेलिया जाने सपना बुनेर दिल्ली पुगेकी उनी सात महिनापछि गलाको सिक्रीसम्म बेचेर होटेलको पैसा तिरी फागुनमा घर फर्किनु पर्‍यो । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।