यस्तो आयो पोखरा महानगरको मत परिणामः दुई वडामा एमाले एकमा काँग्रेस विजयी

अन्य वडाको मत गणना जारी

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाका तीन वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ । महानगरको १३ र १५ मा एमाले विजयी छ भने १२ नं. वडामा काँग्रेस विजयी भएको छ । त्यसगरी अन्य वडाको मत गणना कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

मत गणना अनुसार महानगरपालिका वडा नं १२ मा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार कार्कीले एक हजार ४६ मत प्राप्त गरी विजयी भएका छन ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का ऋषिराम लामिछानेले आठ सय २९ मत प्राप्त गरेका छन । वडाका महिला सदस्यमा काँग्रेसकी सीतादेवी बास्तोला, दलित महिला सदस्यमा एमालेकी विष्णु विश्वकर्मा तथा खुला सदस्यद्वयमा एमालेका निर्मलबहादुर थापा र देशभक्त केसी निर्वाचित भएका छन ।

महानगर १३ नं वडामा एमालेको समूह विजयी भएको छ । वडाध्यक्षमा एमालेका लेखबहादुर तामाङ (दर्शन लामा) दुई हजार ६०६ मतसहित विजयी बने ।

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका बजिरमान श्रेष्ठले एक हजार छ सय आठ मत प्राप्त गरे । सो वडाका महिला सदस्यमा कृष्णकुमारी गुरुङ र दलित महिला सदस्यमा कमला विक तथा खुला सदस्यद्वयमा टङ्कप्रसाद भट्टराई र रहीमुल्ला मिया विजयी बने ।

महानगर वडा नं १५ मा एमाले समूहसहित विजयी भएको छ । वडाअध्यक्षमा एमालेका प्रकाश पौडेल एक हजार ९४४ मतसहित निर्वाचित भएका छन । उनका निकटतम प्रतिद्वन्द्वीकाँग्रेसका टोपबहादुर थापाले एक हजार पाँच सय ४७ मत प्राप्त गरे।

महिला सदस्यमा पार्वती कार्की, दलित महिला सदस्यमा मन्दिरा परियार तथा खुल्ला सदस्यद्वयमा तोरणबहादुर बानियाँ र रुकबहादुर गुरुङ विजयी बने ।