सिन्धुलीमा पाँच क्विन्टल चाँदी पक्राउ

सिन्धुली । सिन्धुली प्रहरीले ठूलो परिमाणमा चाँदी बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय खुर्कोटले बिहीबार राति चेकजाँचको क्रममा पाँच क्विन्टल चाँदी फेला पारेको हो ।

बिपी राजमार्ग हुँदै काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको बा.१६प ६४७ नम्बरको स्कार्पियो जिपमा सो परिमाणको चाँदी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जनकपुर उपमहानगरपालिका बस्ने अमित गुप्ताले चलाएर ल्याएको जिपमा खानतलासी गर्दा पाँच क्विन्टल चाँदी फेला परेपछि शंका लागेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक उमाशंकर पंजियारले बताए ।

यदि वैधानिक थियो भने यति ठूलो परिमाणको चाँदी ल्याउँदा हेलिकोप्टर प्रयोग गरिन्थ्यो या सडकमार्गबाट ल्याउँदा सुरक्षाविना ल्याइँदैन थियो, पंजियारले भने–‘एक त यति ठूलो परिमाणको बहुमूल्य धातु, त्यसमा पनि रातको समयमा काभ्रे–सिन्धुली हुँदै जनकपुर लैजान लाग्नुले पनि आशंका पैदा भएको हो ।’ यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।