रातो मच्छिन्द्रनाथको रथ तान्न सोमबारको साइत जुर्यो

जेष्ठ ११ गते मच्छिन्द्र नाथका साथै भोटो प्रदर्शन हुने

ललितपुर। रातो मच्छिन्द्रनाथको रथ थटी टोलबाट जेठ ८ गते सोमबार जावलाखेलतर्फ लैजाने साइत जुरेको छ । ज्योतिषीले बिहीबार साइत हेरेर यो निर्णय दिएको पाटनस्थित गुठी कार्यालयले जनाएको छ ।

थटी टोलबाट एकै दिनमा रथलाई जावलाखेल ल्याउन सकियो भने रथ जावलाखेल आइपुगेको चौथो दिन जेठ ११ गते मच्छिन्द्र नाथका साथमा रहेको भोटो प्रदर्शन हुनेछ ।

रथ जावलाखेल आएको चौथो दिनमा भोटो देखाउने प्रचलन छ । गुठी संस्थानले यो पल्ट संस्थान पाटन शाखा कार्यालय प्रमुख वैकुण्ठ आचार्यलाई भोटो प्रदर्शन गराउन दिन तोकेको छ ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्र नाथको वर्षा यामको आसपास रथ यात्रा गराउने चलन छ । भोटो जात्रापछि नाथलाई छ महिनाका लागि बुङ्मती लगिन्छ ।

संस्थान कर्मचारी सुशीला भण्डारीका अनुसार साइत तोकिएपछि रथयात्राको तयारीमा स्थानीय गुठियारले तत्परता देखाएका छन् । साइत हेर्ने क्रममा ज्योतिषी स्थानीय धूप बत्तीसहित रथ भएको स्थान थटी टोल आएको जनाइएको छ । रासस