आइतबारदेखि सवारी लाइसेन्सको परीक्षा हुने

चारपाङ्ग्रेको अनुमतिपत्र आवेदन पनि केही दिनमा खोलिने

ललितपुर। बागमती अञ्चल यातायात कार्यालयले स्थानीय तहको निर्वाचनका कारण रोकिएको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा आइतबारदेखि नियमित रूपमा लिने भएको छ । दुई पाङ्ग्रे सवारीको लाइसेन्सका लागि आवेदन पनि त्यसै दिनदेखि लिने बताइएको छ ।

निर्वाचनका कारण रोकिएको लाइसेन्स नविकरण, प्रतिलिपि उतार, अञ्चलीकरण, अन्तर्राष्ट्रिय लाइसेन्सको नेपालीकरण, प्रहरी कारवाहीमा परेर जफत भएका लाइसेन्स सवारी धनीलाई फिर्ता गर्ने कार्य पनि सुचारु हुनेछ ।

अञ्चल यातायात कार्यालय प्रमुख तेजनारायण यादवका अनुसार चारपाङ्ग्रे सवारीको प्रयोगात्मक परीक्षाका लागि पुराना दुई हजारभन्दा बढीको परीक्षा रोकिएकाले यो परीक्षा सकिएपछि चारपाङ्ग्रे सवारीको चालक अनुमति आवेदन पनि खुला हुनेछ ।