एलईडी प्रकरणः कानुनको परिधिभित्र रहेर खरिद

ऊर्जा खपत गर्ने दुई करोड एलईडी बत्ती खरिद गर्न सक्ने

काठमाडौं । विद्युत् प्राधिकरणले भारतीय सरकारी कम्पनीबाट कम ऊर्जा खपत गर्ने दुई करोड थान एलईडी बत्ती खरिदसम्बन्धी प्रक्रियालाई विवादित बनाइएका बेला स्थापित नियम, कानुनको परिधिभित्र रहेर मन्त्रिपरिषद्ले निर्णय गरेको पाइएको छ ।

ऊर्जा मन्त्रालयको कानुन महाशाखाका सहसचिव कोशलचन्द्र सुवेदीले सार्वजनिक खरिद ऐन र नियमावलीले प्रदत्त गरेको प्रावधानअनुसार छोटो समयमा धेरै सामान आपूर्ति गर्न सरकारी तहमा खरिद गर्ने निर्णय गरेको बताए ।

खरिद ऐन र नियमावलीले सरकारले अन्य देशको सरकारी निकायसित कुनै पनि मालसामान खरिद गर्ने अधिकार दिएको छ । त्यही प्रक्रियाअनुसार एलईडी खरिदसम्बन्धी बन्दोबस्ती भएको हो । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को (५ ख) अनुरूप यो प्रक्रिया अघि बढेको हो।

उक्त नियमको नियम ८५ (५ ख) मा सार्वजनिक निकायले कुनै अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्था वा विदेशी मुलुकको सरकार वा त्यस्तो मुलुकको सार्वजनिक निकायसँग कुनै मालसामान खरिद गर्नुपर्दा त्यस्तो संस्था, सरकार वा निकायबाट निर्धारित बिक्री मूल्यमा सोझै खरिद गर्न सक्ने उल्लेख छ। यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।