गुरुङ फिल्मका हिरो बने गाउँपालिका अध्यक्ष

राजनीतिभन्दा कलाकारीता पेशामा सक्रिय

पोखरा । वेदबहादुर गुरुङ श्यामको परिचय आम पोखरेलीका लागि फिल्म कलाकार हो। गुरुङ भाषा संस्कृतिमा आधारित थुप्रै फिल्मका हिरो हुन् उनी। भर्खरै उनले अर्को परिचय पाएका छन्। उनी बनेका छन् गाउँपालिका अध्यक्ष। स्थानीय तहको निर्वाचनमा उनले कास्कीको मादी गाउँपालिकामा विजय प्राप्त गरे।

फिल्म क्षेत्रमा कमाएको ख्यातिलाई क्यास गरेर मात्रै उनी गाउँपालिकाको उम्मेदवार बनेका होइनन्। फिल्म दर्शकका लागि हिरो वेदबहादुर राजनीतिमा रुचि राख्नेहरुका माझ नेताकै रुपमा चिनिन्थे। नेकपा एमालेको प्रदेश ४ कमिटी सदस्य वेदले फिल्म क्षेत्रमा भन्दा पाइला टेकेको पनि राजनीतिमै हो।

४७ वर्षे यी अध्यक्ष आफ्नो गाउँ नामार्जुङ ताङतिङमा स्कुल पढ्दै राजनीतिमा संलग्न हुन थालेका थिए। ‘आठ कक्षा पढ्दा नै अखिलमा आवद्ध भएको थिएँ’, उनले आफ्नो इतिहासको पाना पल्टाए।

पेसागत हिसाबको फिल्मतिर बढि सक्रियता देखिएका उनले २०५२ सालमा पहिलो पटक गुरुङ भाषाको फिल्म न्याम्सोन्योरी (कुहिरोभित्र) मा अभिनय गरेका थिए, त्यतिबेला उनले राजनीति प्रवेश गरेको ५ वर्ष भइसकेको थियो।

फिल्ममा अभिनयबाट प्रवेश गरेका उनले पछिपछि लेखन र निर्देशन पनि गरे। शोषक सामन्तको विरोध गर्ने र सर्वहाराको हित गर्ने कम्युनिस्ट स्कुलिङका उनले फिल्ममा पनि निर्धा र सोझासादाको पक्ष लिएर सन्देश दिन्थे। स्थानीय तहको निर्वाचन घोषणा हुनुअघिसम्म पनि उनी फिल्ममै व्यस्त थिए। ठेलो फिल्म निर्देशनको तयारीमा जुट्दा जुट्दै उनी चुनावतिर होमिए र गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन । यो समाचार आजको अन्नपूर्ण राष्ट्रिय दैनिकमा प्रकाशित रहेको छ ।