तनहुँका गायक परियारको हत्या आरोपमा ६ जना पक्राउ

ज्यान मुद्धा चलाउने प्रहरीको तयारी

दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले लामो काठमाडौंमा डेरागरी बस्दै आएका तनहुँका ४२ वर्षीय गायक विक्रम परियारको हत्या आरोप लागेका ६ जना युवाहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले हिजो आयोजना गरेको पत्रकार सम्मेलन मार्फत उनीहरुलाई सार्वजनिक गरिएको हो । हत्या गरिएका गायक परियार तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा स्थानीयवासी हुन ।

प्रहरीले दिएको जनाकारी अनुसार उक्त हत्या आरोपमा तनहुँको व्यास नगरपालिका ३, देउराली नगरकी १८ वर्षीया उषा थापा, सोही स्थानकी १६ वर्षीया अन्जली राना मगर, व्यास–१ हाईस्कुलटार बस्ने २० वर्षीया कान्छी भन्ने रोशनचन्द ठकुरी, सोही ठाउँ बस्ने १७ वर्षीय तु्म्बाके भन्ने मधुसूदन नेपाली, १७ वर्षीय रन्जन ठकुरी र १६ वर्षीय प्रेम आलेलाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान प्रकृया अघि बढाएको छ ।

बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा जलदेवी केन्द्रबाट मतदान गरी फर्किने क्रममा भादगाउँ नजिकैको छाला फ्याक्ट्री नजिक गायक परियारमाथि उक्त समूहले अन्धाधुन्द ढुङ्गा प्रहार गरेर हत्या गरेको प्रहरी वयानबट खुल्न आएको पत्रकार सम्मेलनमा बताइएको छ ।

घटना भएको जानकारी पाएपछि पुगेको प्रहरी टोलीले त्यहाँबाट कान्छी, उषा र अन्जलीलाई शकांस्पद भनी नियन्त्रणमा लिएको थियो । उनीहरुको वयानबाट फरार रहेका मधुसूदन, रन्जन र प्रेमलाई मङ्गलबार राति झापुटारबाट विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनायो ।

प्रहरी उनीहरुमाथि ज्यान मार्ने उद्योगको अभियोगमा अदालत पुगाउनेतयारी गरेको छ । प्रहरीका अनुसार उनीहरुमाथिको आरोपबारे अहिले केही महत्वपूर्ण प्रमाणहरु जुटाउने काम भैरहेको छ ।