दैलेखमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, दुई जना घाइते

घाइतेको स्थानीय मेडिकलमा उपचार हुँदै

सुर्खेत । दैलेखको चामुण्डा विन्द्रासैनीमा झडप हुँदा दुई जना घाइते भएका छन् । एमालेका तर्फबाट उपमेयरमा निर्वाचित तारा शाहीसहितको टोलीले विजय जुलुस मनाइरहँदा कांग्रेस कार्यकर्ताले आक्रमण गरेपछि दोहोरो झडप भएको हो । बुधवार साँझ भएको उक्त झडपमा दुई जना घाइते भएका हुन् ।

झडपमा परी घाइते भएका योगेन्द्र शाही र मदन शाहीको अहिले स्थानीय मेडिकलमा उपचार भइरहेको छ । योगेन्द्र एमाले कार्यकर्ता हुन भने मदन स्थानीय शिक्षक हुन् । एमालेको विजय जुलुस अगाडि बढी रहेको बेला लुकेर बसेका कांग्रेस कार्यकर्ताले एकाएक आक्रमण गरेको एमालेले जनाएको छ । त्यसपछि दोहोरो झडप भएको थियो । स्थानीय बुडेली बजारमा भएको उक्त झडपपछि अवस्था तनावपुर्ण बनेको थियो ।

करिब एक घण्टाको पैदल दुरीमा रहेको प्रहरी चौकीबाट पुगेको सुरक्षाकर्मीको टोलीले झडपलाई नियन्त्रणमा लिएको हो । सम्भावित झडप रोक्नका लागि त्यहाँ थप सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । गाउँमा पुनः एमाले र कांग्रेसबीच झडप हुनसक्ने भन्दै स्थानीय बासिन्दा त्रसित बनेका छन् । उपमेयरमा निर्वाचित तारा शाहीमाथि आक्रमण गर्ने प्रयास भए पनि आफ्ना कार्यकर्ताले जोगाएको एमालेले दाबी गरेको छ । यता प्रहरीले भने घटनास्थलमा तनाव भए पनि अवस्था नियन्त्रणमा आइसकेको जनाएको छ ।

मत परिणाम सार्वजनिक हुँदै गर्दा दैलेखमा दलहरुबीच दोहोरो झडप हुनेक्रम बढेको छ । यसअघि सोमवार राती जिल्लाको नारायण नगरपालिकामा पनि कांग्रेस र एमालेका कार्यकर्ताबीच घण्टौंसमम दोहोरो झडप भएको थियो । उक्त घटनापछि स्थानीय प्रशासनले सदरमुकाममा रातको समयमा निषेधाज्ञा जारी गरेको थियो । चामुण्डा विन्द्रासैनी नगरपालिकामा एमालेले विजय हासिल गरेको छ । यो समाचार आजको अन्नपूर्ण दैनिकमा प्रकाशित भएको छ ।