एमालेले दासढुंगा र दरबार हत्याकाण्डको फाईल खोल्नेः रहस्य पत्ता लगाएरै छाड्ने ओलीको दाबी

षड्यन्त्रमा ठूलै रहस्य रहेको टिप्पणी

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २४ बर्षअघि चितवनको दासढुंगामा तत्कालिन एमाले नेताहरु मदन भण्डारी र जीवराज आश्रतिको हत्याको फाईल अब खोल्ने बताएका छन । उनले उक्त हत्यालाई दरबार हत्याकाण्डसँग जोड्दै दुबै घटनामा ठूलै षड्यन्त्र रहेको र त्यसको रहस्य छिट्टै पत्ता लाग्ने दाबी गरे ।

घटनापछि एमाले पटक पटक सरकारको नेतृत्वमा गएको छ तर, घटना भएको २४ वर्ष बित्दासम्म यसबारे मुख नखोलेको एमालेले आज मदननगर बल्खुमा आयोजित २४ औं मदन आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले हत्ताकाण्डको फाईल खोल्ने दाबी गरेका हुन ।

उक्त घटनाबारे विभिन्न छानविन समितिहरुले दुर्घटना भनेको थियो । यस विषयमा एमालेले खोजिनिति नगरेको भन्ने एमालेकै नेता,कार्यकर्ताहरुबाट आरोप आउने गरेको छ । पछिल्लो पटक पार्टी पंक्तिबाट पनि उक्त घटनाबारे बोल्न नेताहरुलाई दबाव आएपछि ओलीले मुख खोलेको नेताहरुले भनाई रहेको छ ।

ओलीले राजपरिवार बंश सखाप हुने गरी भएको दरबार हत्याकाण्ड जस्तै षड्यन्त्रपूर्ण ढंगले त्यो घटना भएको भन्दै दुबै घटनाको पनि रहस्य पत्ता लाग्ने दाबी गरे । ओलीले दासढुंगा काण्ड र दरबारकाण्डलाई ठूला शक्तिले गरेको षड्यन्त्रपूर्ण हत्याका रुपमा चित्रित गरेका छन, तर त्यसमा कस्को हात रहेको छ भन्ने खोलेनन् ।

एमालेमाथि पटक पटक षडयन्त्रहरु भएको भन्दै ओलीले ओली भने–‘मदन आश्रित हत्याकाण्ड, दरबार हत्याकाण्ड जस्ता ठूला षड्यन्त्रको रहस्य पत्ता लाग्न समय लाग्छ । तर, पत्ता लाग्छ । हामी त्यो विषयमा गम्भिर छौ ।’

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते आजकै दिन पोखराबाट गाडीमा चितवनतर्फ जाँदै गर्दा चितवनको दासढुंगा नजिकैबाट चढेको गाडी त्रिशूली नदीमा खसेको थियो । उक्त घटनालाई धेरैले नियोजित रुपमा घटाइएको आरोप लगाउदै आएका छन । सत्य विवरण अझै नआएको भन्दै सर्व साधारणहरुबाट त्यसको माग गर्ने क्रम रोकिएको छैन ।

दासढुंगा काण्डको ८ वर्षपछि अर्थात ०५८ साल जेठ १९ गते मध्य राति भएको दरबार हत्याकाण्डको पनि अहिलेसम्म सत्यता बाहिर आएको छैन भन्ने धेरैको भनाइ रहेको छ । नारायणहिटी दरबारमा मध्यरातमा गोली चलेपछि तत्कलीन राजा वीरेन्द्रको बंश नाश भएको थियो ।