आउँदो असोजमा श्रीलङ्काका राष्ट्रपति सिरिसेना नेपाल भ्रमणमा आउँने

नेपाल र श्रीलङ्काबीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास

काठमाडौं । नेपाल र श्रीलङ्काबीच दौंत्य सम्बन्ध स्थापना भएको ६० औँ वर्षगाँठका अवसरमा श्रीलङ्काली राष्ट्रपति यहीबर्ष नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको श्रीलङ्काली पक्षले जनाएको छ ।

श्रीलङ्का र थाइल्यान्डको पाँचदिने औपचारिक भ्रमण पूरा गरी हिजो साँझ नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशेष कक्षमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारी त्यस्तो बताएकी हुन ।

आफ्नो पाँचदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले श्रीलङ्काली समकक्षीलाई नेपाल भ्रमणको निमन्त्रणा गरेको र नेपाल भ्रमणको लागि श्रीलङ्का पनि उत्सुक देखिएको उनले बताइन ।

ेराष्ट्रपति भण्डारीले भनिन–‘भ्रमणको अवसरमा दुबै देशका प्रमुखहरुसँग हाम्रो देशको सम्बन्ध प्रगाढ गर्ने विषयमा कुराकानी भएको छ । यो भ्रमणले हाम्रो सम्बन्धलाई समुधुर बनाएको छ ।’

राष्ट्रपतिको भ्रमण दलमा सहभागी भएका सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले भने–‘श्रीलङ्काली राष्ट्रपति सिरिसेना सम्भवतः आउँदो असोजमा नेपाल भ्रमणमा आउनुहुन्छ । राष्ट्रपति ज्युले उहाँलाई नेपाल भ्रमणको लागि निम्तो गर्नु भएको छ । उहाँहरु पनि त्यसले उत्सुक भएको हामीले पायौं ।’

राष्ट्रपतिको भ्रमणबारे जानकारी गराउँदै सामान्य प्रशासनमन्त्री बुढाथोकीले भ्रमणले द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्न मद्धत मिलेको बताए । निकै लामो समयको अन्तरालमा नेपालको राष्ट्र प्रमुखबाट भएको यस भ्रमणलाई श्रीलङ्का सरकारले उच्च सम्मान व्यक्त गरेको उनले आफ्नो अनुभुति समेत सुनाए ।

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा राष्ट्रपति भण्डारीको नेतृत्वमा नेपाली टोलि त्यहाँको औपचारीक भ्रमणका लागि गत वैशाख २९ गते प्रस्थान गरेको थियो ।

विमानस्थलमा राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख ओनसरी घर्ती, मन्त्रीगणलगायत नेपाल सरकारका उच्च अधिकारीले स्वागत गरेका थिए ।