मत गणनाको रफ्तारमा नबढाए काठमाडौं महानगरको अन्तिम परिणाम आउन भदौ ३० कुर्नुपर्ने

अहिले प्रति घण्टा ६७ मत मात्र गणना

काठमाडौं । मतगणनामा ढिलाइ भएपछि निर्वाचन आयोगको निर्देशनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले मतगणना टोली बढाउँदै छन् । बुधबारबाट काठमाडौं महानगरपालिकाले पाँच टोली बनाएर मतगणना गर्दै छ ।

–मतगणना सुरु समय सोमबार मध्याह्न १२ बजे

–मंगलबार मध्यराति १२ बजेसम्म अर्थात् ३६ घन्टामा गनिएको मत जम्मा २३९८

–प्रतिघन्टा गनिएको मत ६७ –खसेको मत १,९३,०००

–सम्पूर्ण मत गन्न आवश्यक समय २८८० घन्टा अर्थात् १२० दिन अर्थात् ४ महिना

–यही रफ्तारमा मत गनिए भदौको ३० गते अन्तिम रिजल्ट आउनेछ –एक विकल्पः मतगणना समूह वृद्धि

काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीका अनुसार मंगलबार तीन टोलीले मतगणना गरिरहेको थियो भने बुधबार दुई टोली थपिनेछ । ‘प्रक्रियागत अप्ठ्यारोले टोली थप गर्न समस्या भएको थियो, अब प्रक्रिया पूरा गरेर बुधबार दुई टोली थपिँदै छ,’ मुख्य निर्वाचन अधिकृत अधिकारीले भने । ललितपुर महानगरमा ५ समूहमा र भरतपुरमा तीन समूहमा मतगणना भइरहेको छ ।

थपिएका कर्मचारीलाई भत्ता

सहमतिका आधारमा मतगणक टोलीको संख्या बढाउने अधिकार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको क्षेत्राधिकारभित्र पर्छ । ‘उनीहरूले आवश्यकताअनुसार कर्मचारी थपेर गणना गर्न र गणकलाई भत्ता दिनेबारे कुरा भइसकेको छ,’ निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने ।

विवाद नझिक्न दललाई आग्रह

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दलका प्रतिनिधिले अनावश्यक विवाद निकालेर मतगणना लम्ब्याउने गरेकाले सहयोग गर्न आग्रह गरिएको बताए । यो समाचार आजको नयाँ पत्रीकामा प्रकाशित रहेको छ ।