हेटौँडाको थाहा नगरपालिकामा एमाले अगाडी

हेटौँडा । मकवानपुरको थाहा नगरपालिकामा नेकपा एमाले अगाडी रहेको छ । वडा नम्बर पाँचको चार सय मत गणना हुँदा नेकपा एमालेको मेयर उम्मेदवार विष्णु ढकालले एकसय ५६, उपमेयर उम्मेदवार कल्पना बलामीले एकसय ५१ मत प्राप्त गरेको निर्वाचन अधिकृत जीवन प्रशाद आचार्यले बताएका छन ।

काँग्रेस, माओवादी केन्द्र एलाइन्सका मेयर उम्मेदवार लवशेर विष्टले एकसय ४० र उपमेयर उम्मेदवार खड्ग गोपालीले एकसय २५ मत प्राप्त गरेको उनले जानकारी दिए ।

थाहामा राती एक बजेदेखि मत गणना जारी छ । यसैगरी बाग्मती र मनहरी गाउँपालिकामा पनि मत गणना जारी रहेको छ । प्रारम्भिक मत परिणाम आइसकेको छैन ।

हेटौँडा उपमहानगरपालिकामा भने आज बिहान ७ बजेदेखि हुने भएको छ । दलहरुबीच आइतबार राती भएको छलफलमा बिहान ७ बजदेखि मतगणना गर्ने सहमति भएको प्रमुख निर्वाचन अधिकृत दयाराम ढकालले बताए ।

मत गणना जिल्ला समन्वय समितिको हलमा गरिने उनले जानकारी दिएका छन । अन्य ६ गाउँपालिकामा भने मत गणना सुरु भएको छैन । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।