‘चुनाव बहिष्कार अभियान सफल,जनसहभागिता न्यून देखियो’– महासचिव विप्लव (विज्ञप्तिको पूर्णपाठसहित)

विप्लवद्धारा निर्वाचन खारेजीमा सक्रिय नेता,कार्यकतार्अलाई धन्यवाद ज्ञापन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले संसदीय दलहरु र सरकारद्धारा गरिएको स्थानीयय तहको निर्वाचनमा जनसहभागिता न्यून देखिएको भन्दै आफ्नो पार्टीले चलाएको निर्वाचन बहिष्कार अभियान पूर्ण रुपमा सफल भएको दाबी गरेका छन ।

निर्वाचन आयोगले आज सम्पन्न पत्रकार सम्मेलनमा ७१ प्रतिशत जनसहभागितामा मतदान प्रकृया सफल भएको बताए पनि विप्लवले भने त्यसको खण्डन गरेका छन । उनले आज एक विज्ञप्ति जारी त्यस्तो दाबी गरेका हुन ।

नेकपाका महासचिव विप्लवले विज्ञप्ति मार्फत भनेका छन–‘ठूला घरानाका सञ्चारमाध्यमहरुले जति प्रचार गरेपनि आज भएको निर्वाचनमा जनसहभागिता न्यून रहेको देखियो । निर्वाचन प्रति जनताको रुचि नभएको देखियो । हाम्रो पार्टीले चलाएको निर्वाचन वहिष्कार आन्दोलन सफल भएको छ ।’

महासचिव विप्लवले चुनाव खारेज अभियानमा पार्टीका हजारौं नेता, कार्यकर्ता सक्रिय भएको र केही बहिष्कार अभियानको क्रममा सत्ताँधारी दलहरुको योजना अनुसार गिरफ्तार पारिएको भन्दै सबै नेता,कार्यकर्ताहरुलाई धन्यवाद समेत ज्ञापन गरेका छन ।
विज्ञप्तिको पूर्णपाठ यस्तो छ–

संसदीय व्यवस्थाको चुनावको पहिलो चरणको स्थानीय चुनावसँगै हाम्रो पार्टीको नेतृत्वमा जनताले संचालन गरेको पहिलो चरणको चुनाव खारेज अभियान सम्पन्न भएको छ । संसदीय दलहरु र सरकार नियन्त्रित तथा घरानाका सञ्चार माध्यमले जतिसुकै प्रचार गरेपनि चुनावप्रति जनताको रुची देखिएन । न त व्यापक जनताको सहभागिता नै भयो । हाम्रो नेतृत्वमा संसदीय चुनावको खारेजी अभियान सशक्त प्रकारले सम्पन्न भयो । चुनाव खारेज अभियानमा हजारौं कार्यकर्ता सक्रिय भए भने जनताको हार्दिकतापूर्ण सहयोग र समर्थन रह्यो । हाम्रो पार्टी अभियानमा सक्रिय रुपमा साथ दिने नेपाली जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छ ।

यो पहिलो चरणको खारेजी अभियान सञ्चालन गर्दा राज्य पक्षले पार्टी नेता र कार्यकर्ताविरुद्ध तानाशाही तरिकाले दमनमा उत्रियो । सरकारले हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर व्यूरो इञ्चार्ज सन्देश पौडेल, बैकल्पिक केन्द्रीय सदस्य नारायण महर्जन र जिल्ला इञ्चार्जहरु देवकला अधिकारी, लक्ष्मण उप्रेती, अर्जुन योगी, दीपक श्रेष्ठ, रविकिरण तथा जिल्ला सेक्रेटरीहरु नन्दलाल तिवारी, उदय राई, सागर तिमल्सिना, चन्द्र बुढा, राजन धनुके, गोकुल पराजुली, मोहन राई, हरिकृष्ण घिमिरेसहित सयौं कार्यकर्ता र जनतालाई गिरफ्तार गरेको छ ।

यतिसम्म की संचारकर्मी र अधिकारकर्मीहरुलाई समेत दमन गरिएको छ । सयौंलाई पक्राउ पूर्जि जारी गरिएको, झुठ्टा मुद्दामा फसाउने षड्यन्त्र भएको छ । दिन–रात गाउँ–शहरमा छापा मारेर तर्साइएको छ । हामी त्यसप्रकारको सरकारी आतङ्कको निन्दा गर्दछौं । साथै झुठ्ठा मुद्दा खारेज गरेर गिरफ्तार नेता, कार्यकर्ता र जनताको विनाशर्त रिहाइको माग गर्दछौं । गिरफ्तार भै हिरासतमा संघर्ष गरिरहनु भएका कमरेड तथा राजबन्दीहरुलाई अभिवादन गर्दछौं । हाम्रो काँधमा देशलाई स्वाधीन र जनतालाई कुनै पनि परिस्थितिमा दलाल सत्ताको चङ्गुलबाट मुक्त गराउने युगिन दायित्व छ । त्यसलाई हामी सबैले आत्मसात गरेर अगाडि बढौं । जनताको जित सुनिश्चित छ ।
क्रान्तिकारी अभिवादनसहित ।
विप्लव, महासचिवः नेपाल कम्युनिस्ट पार्टी