मतदान प्रकृया सुरुः ४९ हजार ३३७ उम्मेदवार प्रतिस्पर्धामा (भिडियो सहित)

४९ लाख ५६ हजार ९२५ जना मतदाता मतदानमा सहभागी

काठमाडौंँ । पहिलो चरणको स्थानीय तह निर्वाचनको मतदान प्रकृया आज बिहान ७ बजेदेखि सुरु भएको छ । निर्वाचन आयोगले हरपल नेपाललाई दिएको जानकारी अनुसार काठमाडौं महानगरपािलका अन्तर्गतका सम्पूर्ण वाडाहरुमा निर्वाचन प्रकृया शान्तिपूर्ण वातावरणमा भैरहेको छ । भने आज निर्वाचन हुने देशका अन्य क्षेत्रको निर्वाचन पनि सुरु भैसकेको जनाइएको छ ।

आयोगका अनुसार आज ३४ जिल्लाको छ हजार छ सय ४२ मतदान केन्द्रमा निर्वाचन चलिरहेको छ । त्यसका लागि कुल ४९ हजार ३३७ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

तीमध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला उम्मेदवार छन् । चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र १८६ गाउँपालिकामा अहिले निर्वाचन भै रहेको छ ।

निर्वाचनबाट अध्यक्ष वा नगरप्रमुख २८३ जना, त्यही सङ्ख्यामा उपाध्यक्ष वा उपप्रमुख निर्वाचित हुनेछन् । त्यस्तै पहिलो चरणको निर्वाचनबाट दुई हजार ५९८ जना वडाअध्यक्ष पनि निर्वाचित हुनेछन ।

आयोगका अनुसार प्रमुख वा वडाअध्यक्षमा कुल एक हजार ७२३ पुरुष र १५७ महिला गरी एक हजार ८८० प्रतिस्पर्धामा छन् भने उपाध्यक्ष वा उपप्रमुखमा २५७ पुरुष र एक हजार १२७ महिला गरी कुल एक हजार ३४८ जना प्रतिस्पर्धामा छन् ।

त्यस्तै वडा सदस्य दुई पद खुलाका लागि १७ हजार ७२९ पुरुष र ९५१ महिला, अन्य वडा सदस्य पदमा नौ हजार ८३ जना र दलित महिला वडा सदस्यमा सात हजार ५२६ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जानकारी गराएको छ ।

आयोगका अनुसार अहिलेसम्म ३२९ जना निर्विरोध निर्वाचित भइसकेका छन् । तीमध्ये १६९ जना पुरुष र १६० महिला छन् । पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार ९२५ जना मतदाता निर्वाचन प्रक्रियामा सहभागी भइरहेको आयोगले जनाएको छ ।

निर्वाचनमा ४९ संस्थाका पर्यवेक्षकले निर्वाचनको अनुगमन गर्ने आयोगले जनाएको छ । यस निर्वाचनबाट महिला, दलित, सीमान्तकृत वर्ग, मधेशी र पछाडि परेका वर्गको अधिकार सुनिश्चित हुन गइरहेको आयोगका प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताका छन ।

LOADING...