भक्तपुरमा निर्वाचनका सम्पूर्ण तयारी पूराः ढुक्क भएर मतदान गर्न निर्वाचन अधिकृतको आग्रह

निर्वाचन सुरक्षा मजबुतः दुई हजार सुरक्षाकर्मि परिचालन

भक्तपुर । भोलि बैशाख ३१ गतेका लागि हुन लागेको स्थानीय तहको निर्वाचनको भक्तपुरमा सम्पूर्ण तयारी पूरा भएको छ ।

भक्तपुरका ७८ स्थानमा निर्वाचन स्थल तोकिएको र एक सय ९१ मतदान केन्द्रमा हुने सम्पूर्ण निर्वाचनको तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जानकारी दिएको छ ।

भोलि हुने निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भइसकेको भन्दै जिल्ला निर्वाचन कार्यालय भक्तपुरका निर्वाचन प्रमुख उमेश राईले मतदाताहरुले आफ्नो मत हाल्न लागि तयारी रहन आग्रह गरे ।

त्यस्तै, भक्तपुरको सुरक्षा अवस्था निकै मजबुद पारिएको जानकारी दिँदै भक्तपुर सुरक्षा समितिका अध्यक्ष एवं भक्तपुरका प्रमुख जिल्ला अधिकारीले निर्वाचनका दिनलाई मध्येनजर गर्दै सम्पूर्ण सुरक्षा अवस्था निकै मजबुद पारिएकाले मतदाताहरुलाई ढुक्कसाथ आफ्नो मतदान गर्न आग्रह गरे ।

उनले भक्तपुरमा कुल दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको र एक हजार एक सय निजामती कर्मचारी निर्वाचनको दिन परिचालन हुने समेत जानकारी दिए ।

उनले भने भक्तपुरमा राजनीतिक दलमाँझ देखिएको सौहार्द पूर्ण ब्यवहारका कारण निर्वाचनको दिन पनि शान्तमय रहने बिश्वास ब्यक्त गरे ।

मौन अवधि सुरु भएपछि राजनीतिक दलहरुका प्रतिनिधिहरु प्रचार प्रसारमा भन्दा पनि भोलिको मतदानका लागि केन्द्रित रहेको बिभिन्न राजनीतिक दलका उम्मेदवारहरुले जानकारी दिए ।

उम्मेदवारहरुका अनुसार भोलिका दिन भक्तपुरमा हुने मतदान शान्तपूर्ण रहेता पनि यस पटक अत्याधिक मत बदर हुँदा आफूले पाएको मत कतै बदर हुने हो कि भन्ने समेत चिन्ता रहेको बताए ।

मतदाताहरुलाई आफ्नो मत अधिकार उपयोग गर्नका लागि भोलि बिहान सात बजेदेखि बेलुका पाँच बजेसम्म आफ्नो मतदान गर्ने स्थानमा पुगि सक्नु पर्ने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

पाँच बजे मतदान स्थलमा पुगेका मतदाताको संख्या बृद्धि भएमा थप समयको उपयोग गर्न सकिने समेत निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

निर्वाचन कार्यालयले आफ्नो मताधिकार उपयोगका लागि समयमै मतदान स्थलमा पुगिदिन समेत मतदाताहरुका लागि आग्रह गरेको छ ।

मतदान स्थलमा निर्वाचन आचारसंहिता बिपरित कुनै गतिबिधि गरेको खण्डमा कानुन अनुसार कारवाहिको भागि बन्नु पर्ने भएकोले त्यस्तो गतिबिधिमा संलग्न नहुने समेत सबैलाई जिल्ला निर्वाचन कार्यालय भक्तपुरले आग्रह गरेको छ ।