निर्धक्क भई आफुले चाहेका उम्मेदवारलाई मतदान गर्नुहोसः प्रधानमन्त्री

संचारकर्मीलाई आ—आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोली हुने पहिलो चरणको स्थानीय तहको चुनावमा भय र संकोच विना निर्धक्क भई आफुले चाहेका उम्मेदवारहरुलाई मत खसाली ऐतिहासिक अवसरको सदुपयोग गर्न सबै मतदातालाई आग्रह गरेका छन् ।

आज निर्वाचनको पूर्वसन्ध्या प्रधानमन्त्रीले ९ बुँदे अपिल जारी गर्दै भोलि केवल मतदानको दिन मात्र नभई नेपाली लोकतान्त्रिक इतिहासको महाउत्सवको दिन पनि रहेको भन्दै सबैलाई उत्साहका साथ सहभागी हुन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले शान्ति सुरक्षाको दृष्टिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले दरिलो र भरपर्दो सुरक्षा प्रबन्ध मिलाएको बताएका छन ।

पहिलो चोटि नेपालको संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहित गरेको तथा लोकतन्त्रमा जनताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने माध्यम नै निर्वाचन भएको भन्दै आफ्नो निर्णायक शक्तिको प्रयोग चुनाव मार्फत् गर्न पनि उहाले सबैलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले निर्वाचन प्रयोजनमा खटिएका राष्ट्रसेवक कर्मचारी, शिक्षक, सुरक्षाकर्मीसहित सबैलाई संयमतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न तथा राजनैतिक दल, संचारकर्मीलगायतलाई आ—आफ्नो क्षेत्रबाट सहयोग गर्नका लागि पनि अपिल गरेका छन ।

उनले आगामी जेठ ३१ गतेका लागि निर्वाचनको मिति तय भएका प्रदेश नं १, २, ५ र ७ का जनसमुदायलाई आफ्ना जनप्रतिनिधि चुन्ने कार्यको तयारीमा सक्रियतापूर्वक लाग्न पनि विशेष अपील गरेका छन् ।