बैतडीका मृतक परिवारलाई दुई लाख राहत दिइने

बैतडी । बैतडीमा बाढीले बगाएर मृत्यु भएका परिवारलाई दुई लाख राहत दिइने भएको छ ।

जिल्ला दैवीप्रकोप उद्धार समितिको बसेको बैठकले बुधबार बाढीले बगाएर मृत्यु भएका दशरथचन्द नगरपालिका– ६ सुकुट्टीका सुनिता महर र उनकी छ वर्षीया छोरी करिश्मा महरका परिवारलाई प्रतिमृतक रु एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय भएको जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए ।

राहत प्रदानका लागि कागजपत्र सङ्कलन गर्न केही दिन लागे पनि तत्काल किरिया खर्चबापत रु १० १० हजार उपलब्ध गराइने उनले बताए ।

जिल्ला दैवीप्रकोप उद्धार समितिको बसेको बैठकले जिल्लामा हुनसक्ने सम्भावित विपद्को जोखिमलाई न्यूनीकरणका लागि पूर्वतयारी अवस्थामा रहने निर्णय गरेको छ ।

विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यको संयोजकत्वमा एक उपसमिति गठन गर्ने निर्णय भएको छ ।

समितिमा जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी र विपद्का क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाका प्रतिनिधि सदस्य रहेका छन् ।

यस्तै केही दिनदेखि आएको हावाहुरी असिनाले विद्यालय, बालीनाली लगायतका क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

यसैगरी वर्षात्को समयमा विभिन्न ठाउँमा सडक अवरुद्ध हुनसक्ने भएकाले सडक सञ्चालनका औजारलाई तयारी अवस्थामा राख्न डिभिजन सडक कार्यालयलाई निर्देशन दिइएको प्रजिअ पौडेलले बताए । रासस