निर्वाचित जनप्रतिनिधिले शपथ लिने कानुन अझै बनेन

विधयेक अहिले संसदमा विचाराधीन भएकोले ढिलाई

काठमाडौं । भोली हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले शपथ लिने कानुन अझै बन्न सकेको छैन । कानुन नबन्दा निर्वाचित जनप्रतिनिधिले तत्काल काम गर्न पाउने छैनन् ।

भोली (आइतबार) प्रदेश नंम्बर ३, ४ र ६ मा गरी ३८१ स्थानीय तह (गाउँपालिका, नगरपालिका र महानगरपालिका) मा निर्वाचन हुँदैछ । कानुनी अभावमा निर्वाचित जनप्रतिनिधिहरूले गर्ने पहिलो काम शपथ ग्रहणमै समस्या आउने निश्चित छ ।

स्थानीय शासन विज्ञ एवम् अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले निर्वाचित जनप्रतिनिधिहरूले निर्वाचित भएपछि गरिने पहिलो कामको कानुनी आधार अहिलेसम्म तय नभएको बताएका छन ।

उनका अनुसार स्थानीय तहको शासन सञ्चालन गर्न बनेको विधयेकमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले गर्ने सम्पूर्ण कामको कानुनी प्रक्रिया उल्लेख गरिएको तर उक्त विधयेक अहिले संसदमा विचाराधीन छ । सरकारले आगामी जेठ ४ गतेसम्मका लागि संसदको बैठक स्थगन गरिसकेको छ ।