ओबिओआरको अवधारणामा नेपालले हस्ताक्षर, के हो वान बेल्ट वान रोड

काठमाडौं । चीनले अघि सारेको महत्वाकांक्षी वान बेल्ट वान रोड (ओबिओआर)को अवधारणामा नेपालले हस्ताक्षर गरेको छ ।

शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रसचिव शंकरदास बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले अवधारणाको समझदारीपत्रमा हस्ताक्षर गरे ।

आइतबारदेखि चीनमा सुरु हुने ओबिओआर सम्मेलनको पूर्वसन्ध्यामा नेपालले सो बृहत् परियोजनामा सहभागी हुने गरी हस्ताक्षर गरेको हो ।

हस्ताक्षर कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री डा। प्रकाशशरण महत उपस्थित थिए ।

यससँगै एसिया, युरोप र अफ्रिकाका ६० मुलुक जोडिने चीनको महत्वाकांक्षी योजनामा नेपाल पनि सहभागी हुने पक्का भएको छ ।

अवधारणाले सहभागी मुलुकहरूबीच सडक र समुद्री मार्गको सञ्जाल विस्तारलाई केन्द्रमा राखेको छ । समझदारीपत्रमा हस्ताक्षरपछि नेपालको अन्तरदेशीय रेल तथा सडक सञ्जाल विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

दुई देशबीच भएको समझदारी नेपाल–चीन सम्बन्धमा महत्वपूर्ण पाइला भएको मन्त्री डा। महतले बताए । उनले भने–‘यो सम्झौताले नेपाल र चीनबीच सडक सञ्जालले जोड्ने र यसका माध्यमबाट नेपालमा चिनियाँ लगानी आई नेपालको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा मैले गरेको छु ।’

नेपालका लागि यो सम्झौता महत्वपूर्ण रहेकोसमेत डा. महतले बताए । उनले भने–‘भूपरिवेष्टित देश नेपाल अझै पनि अल्पविकसित अवस्थामा नै छ, यसलाई ध्यानमा राखेर चीनजस्तो महत्वपूर्ण छिमेकीबाट नेपालमा लगानी हुनेछ र नेपालको आर्थिक विकासमा महतवपूर्ण टेवा पुग्नेछ ।’

समझदारी नेपालमा विदेशी लगानी र व्यापार प्रवद्र्धनका क्षेत्रमा कोसेढुंगा भएको पनि उनले बताए । उनले भने–‘नेपाललाई बढीभन्दा बढी लगानीको खाँचो छ, यसै नयाँ आयोजनामार्फत नेपालमा चिनियाँ लगानी होस् भन्ने हामी चाहन्छौँ ।’

समझदारीपत्रमा हस्ताक्षर हुने चरणसम्म आइपुग्न दुवै देशका विभिन्न चरणमा छलफल र अन्तरक्रिया भएको बताए । सो कार्यक्रममा परराष्ट्रसचिव बैरागीले नेपालले पनि चीनको यो महत्वपूर्ण आयोजनाबाट लाभान्वित हुने भन्दै यसलाई नेपालको विकास प्रयासको एक महत्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने बताए ।

नेपालका लागि चिनियाँ राजदूत यु होङले यस आयोजनाबाट चीन–नेपाल सहयोग र विशेषगरी दक्षिणी एसियाली क्षेत्रकै आर्थिक विकासमा सहयोग पुग्ने धारणा राखिन् ।

नेपालले ओबिओआर अवधारणामा सहभागी हुने सैद्धान्तिक प्रारम्भिक समझदारीपत्रमा सन् २०१४ डिसेम्बरमा चीनसँग हस्ताक्षर गरेको थियो ।

यसबीचमा ओबिओआरमा नेपालको सहभागिताका विषयमा विभिन्न चरणमा छलफल तथा वार्ता भएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक चीन भ्रमणका क्रममा ओबिओआरमा हस्ताक्षर गर्ने मौखिक सहमति गरेका थिए ।

महरासहित तीन मन्त्री चीन जाँदै: आइतबारदेखि चीनमा सुरु हुने बेल्ट एन्ड रोड फोरम (ओबिओआर मञ्च)मा नेपालका तर्फबाट उपप्रधानमन्त्री कृष्णबहादुर महरा नेतृत्वको टोली सहभागी हुने भएको छ ।

प्रतिनिधिमण्डलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीलगायत सहभागी हुने भएका छन् ।

सोमबार सम्पन्न हुने सम्मेलनमा २९ देशका राष्ट्र तथा सरकार प्रमुखहरू सहभागी हुने चिनियाँ मिडियाहरूले उल्लेख गरेका छन् ।

सम्मेलनको आकर्षण चिनियाँ राष्ट्रपति आफैँ हुनेछन् भने संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेस, विश्वबैंकका अध्यक्ष जिम योङ किम, आइएमएफकी प्रबन्ध–निर्देशक क्रिस्टिन लागार्दलगायत उपस्थित हुनेछन् । सम्मेलनमा १ सय ३० देशका सरकारी प्रतिनिधिका साथै कुल १ हजार २ सयजना सहभागी हुने जनाइएको छ ।

के हो वान बेल्ट वान रोड ?:  चीनले ऐतिहासिक रेसममार्गलाई पुनरुत्थान र विकास गर्ने आफ्नो महत्वाकांक्षी योजनालाई ‘वान बेल्ट वान रोड’का रूपमा अघि बढाइरहेको छ ।

चीनका राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा युरोप र एसियाका मुलुकसँग चीनको सम्पर्क र साझेदारी विस्तारका लागि ओबिओआरको अवधारणा अघि सारेका थिए ।

सीले भूपरिवेष्टित मुलुकहरूसँग सडक रेलमार्फत कनेक्टिभिटी बढाउन ‘सिल्क रोड इकोनोमिक बेल्ट’ तथा समुद्र भएका मुलुकहरूसँग ‘म्यारिटाइम सिल्क रोड’ को प्रस्ताव गरेका थिए । यस अवधारणाअन्तर्गत ओबिओआरमा एसिया, युरोप र अफ्रिकाका ६९ मुलुक जोडिनेछन् ।

यसले विश्वमा चीनको प्रभाव बढाउने अपेक्षा गरिएको छ । यो परियोजनामा पहिलो चरणमा ८ खर्ब ९० अर्ब अमेरिकी डलर खर्च हुने अपेक्षा चीनको छ ।

यस अवधारणामा खर्च गर्न चीनले ४० अर्ब डलरको सिल्क रोड फन्ड स्थापना गरेको छ । त्यस्तै, १ सय अर्ब डलरको एसियाली पूर्वाधार लगानी बैंक ९एआइआइबी०ले समेत मुख्य रूपमा ओबिओआर परियोजनामा लगानी गर्नेछ । तर, भारतले ओबिओआरको अवधारणालाई विरोध गरिरहेको छ ।

बाँकी विश्वसँग समाहित हुनु राम्रो, भेषबहादुर थापा कूटनीतिज्ञ:  हामी आफैँले सबैतिरको बाटो खोल्न सक्दैनौँ । तर, छिमेकीको प्रयासले हाम्रो कनेक्टिभिटी बाँकी विश्वसँग बढ्न सक्यो भने त्यो असाध्यै राम्रो हो ।

चीनले इतिहासमा रेसममार्गको माध्यमबाट विश्वका विभिन्न मुलुकसँगको पारवहन र अन्य सम्बन्ध स्थापित गरेको थियो । अहिले वान बेल्ट वान रोड भनेको छ ।

नेपालले पनि त्यसमा सहभागी भई बाँकी विश्वसँग आफूलाई समाहित गर्नु राम्रो कुरा हो । यो समझदारीपछि सडक, हवाई, रेललगायतका माध्यमबाट नेपालको कनेक्टिभिटी बढाउन सक्यो भने अहिलेको अवस्थाबाट पार पाउन पनि सकिएला । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।