तडकभडक देखाएर चुनाव जित्छु भन्नु गलतः आयुक्त पौडेल

निर्धक्क भएर मताधिकारको प्रयोग गर्न सबैसँग आग्रह

पोखरा । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले तडकभडक देखाएर चुनाव जित्छु भन्नु गलत भएको बताएका छन ।

आज क्षेत्रीय निर्वाचन कार्यालयले आज आयोजना गरेको पत्रकार भेटघाटमा आयुक्त पौडेलले उमेदवारले ठूलो मोटरसाइकल र्याली र भोज भतेर गर्नु व्यर्थकै खर्च भएको टिप्पणी गरेका हुन ।

स्वच्छ छवि, विकासप्रेमी र जनताको सुखदुःखमा सधँै रहेर काम गर्नेले नै जनताको मत जित्नसक्ने विचार व्यक्त गर्दै उनले निर्वाचन आयोगको आचारसंहिता पालना गर्ने हो भने दल तथा स्वतन्त्र उम्मेदवारले प्रचारप्रसारलाई कम खर्चिलो र कम भडकिलो बनाई वातावरणलाई शान्त बनाउनुपर्ने धारणा राखे ।

आयुक्त पौडेलले प्रदेश नं– ४ का सबै जिल्लाको निर्वाचन तयारी शान्तपूर्ण वातावरणमा रहेकाले निर्धक्क भएर मताधिकारको प्रयोग गर्न सबै मतदातासँग आग्रह गरे ।

उनले दुवै चरणको स्थानीय तहको निर्वाचन गर्न नसकिएमा आगामी माघ ७ गतेभित्र गर्नुपर्ने प्रादेशिक र संसदीय निर्वाचन अन्यौलमा पर्ने विचार व्यक्त गरे । रासस