विप्लव निकट विद्यार्थीको कार्यलयमा मध्यराति प्रहरीले छापा हान्यो

प्रहरीले हस्तपेक्ष नरोके प्रतिकार गर्ने क्रान्तिकारी चेतावनी

वुटवल । नेत्रबिक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको विद्यार्थी संगठनको नवलपरासी स्थित कार्यालयमा गएराती प्रहरीले छापा हानेको छ । कावासोतिमा रहेको अखिल क्रान्तिकारीको जिल्ला समितिको कार्यलयमा छापा हानेपछि प्रहरी संगठनका महत्वपूर्ण कागजातहरु समेत लगेको बताइएको छ ।

नेकपाले स्थानीय निकायको चुनाव बहिष्कारको निति लिएको र कुनै अप्रिय घटना हुन सक्ने आशंका भएकाले चेक जाँचको लागि कार्यालयमा गएको प्रहरीले जनाएको छ । प्रहरीले देश ब्यापी रुपमा निर्वाचन बिरोधी आन्दोलन गर्ने समूहको तिब्र निगरानी गरिरहेको समेत बताएको छ ।

अखिल क्रान्तिकारीका लुम्बिनी अञ्चल संयोजक प्रेमचन्द्र भुषालले आफ्नो संगठनको नवलपरासि जिल्ला कार्यलयमा मध्य राति कार्यलयले ताला फोडेर संगठनका महत्वपूर्ण कागजातहरु कब्जामा लिएको बताएका छन ।

संयोजक भुषालद्धारा आज जारी गरिएको विज्ञप्तिमा आफ्नो संगठन मर्यादित रुपमा आम विद्यार्थीहरुबिच लोकप्रिय बन्दै शैक्षिक अधिकारको माग सहित संघर्षमा रहेकोबेला त्यसरी छापामार शैलिमा प्रहरीले हस्तक्षेप गर्नु गलत भएको बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ–‘कानुनले उपलब्ध गराउदै आएको राजनीतिक दल तथा संघ संगठन खोल्न पाउने अधिकारमाथि प्रहरी हस्तक्षेप हुनु दुखद कुरा हो । हाम्रो संगठनलाई अनावश्यक आरोप लगाई हामीमाथि यसरी प्रस्तुत हुदा उत्तेजित बनाएको छ । हामी प्रहरी प्रसाशनलाई मर्यादित हुन अनुरोध गर्दछौ ।’

विज्ञप्तिमा भनिएको छ–‘प्रहरीले दमन नरोकेमा सशक्त प्रतिकारमा उत्रनुको विकल्प छैन । प्रहरीले लगायत घरपरिवारमाथिको धाकधम्कि, संगठनका साथीहरूको गिरफ्तारी, खानतलासि नरोके हुन सक्ने प्रतिकारबाट उत्पन्न परिस्थितिको प्रहरी प्रसाशनले नै जिम्मा लिनु पर्नेछ ।’

विज्ञप्ति मार्फत क्रान्तिकारीले प्रहरीले कब्जामा लिएका संगठनका कागजात तुरुन्त फिर्ता गर्न समेत आग्रह गरिएको छ ।