स्याङ्जामा सत्ताइस दलित घरले आधाआधा गाग्री पानी बाँड्छन्

समस्या समाधान गर्न नेताहरुलाई आग्रह

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–११ प्रितिपका २७ दलित घरधुरीमा खानेपानीको समस्या रहेको छ ।

स्थानीयवासी हरिलाल विकले भने–‘पूरै दलित बस्ती रहेको यस ठाउँको मुख्य समस्या भनेको खानेपानीको हो, लाइनमा बसेर जसोतसो पानी भर्छौं तर त्यो पर्याप्त छैन ।’

२७ घरधुरीको बीचमा एउटा धारा रहेको छ जहाँ पाँच किमी परबाट पाइपको मार्फतबाट पानी ल्याइएको छ । स्थानीयवासी लक्ष्मी विकले भनिन–‘गाउँमा पानीको अभाव भएपछि कुनै बेला हामीले आधाआधा गाग्री पानी पनि बाँडेर खानुपरेको अवस्था छ, के गर्नु पानीको प्यास मेटाउनै पर्यो ।’

पानीको अभावमा त्यहाँका स्थानीय दलित समुदायले झन्डै एक घन्टाको पैदल दूरी हिँडेर पानी लिन जानुपर्ने बाध्यता छ भने त्यहाँ पनि पालो पर्खनुपर्दा समय निक्कै खर्र्चिनुपर्ने बाध्यता रहेको स्थानीयवासी बाबुराम विक सुनाउछन ।

उम्मेदवारहरु घरदैलो तथा भेटघाटमा पुगेका बेला स्थानीयवासीले दलित बस्तीमा मुख्यगरी पानीको समस्या रहेको बताउँदै यो समस्या समाधानमा लाग्न नेताहरुलाई आग्रह गरेका थिए । रासस