हुलाकी राजमार्ग एक वर्षभित्र सम्पन्न हुन्छः राजदूत पुरी

धनुषा । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालमा सञ्चालित भारतीय सहयोगका विकास योजना छिट्टै पूरा हुने बताएका छन ।

नेपाल–भारत मैत्री युवा सङ्घद्वारा जनकपुरमा विहिबार आयोजना गरिएको स्वागत एवम् सम्मान कार्यक्रममा २४औँ राजदूतका रुपमा नेपाल आएका पुरीले नेपाल र भारतको सभ्यतालाई जोडेर राख्न जनकपुरधामको महत्वपूर्ण भूमिका रहेको बताउँदै नेपाल र भारतबीचको रेल्वे सञ्चालन आए दुवै देशको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका हुन ।

नेपालमा सञ्चालित विकास योजनामध्ये सबैभन्दा महत्वपूर्ण मानिएको हुलाकी राजमार्ग एक वर्षभित्र सम्पन्न हुने उनले बताए ।

भारतीय राजदूत पुरीले भारत सरकारको लगानीमा नेपालका धेरै आयोजना निर्माणाधीन अवस्थामा रहेको बताउँदै निर्माणाधीन अवस्थामा रहेका मध्ये हुलाकी राजमार्ग प्रमुख भएको बताए ।

उनले तराई मधेसका लागि उपयोगी राजमार्गका रुपमा परिचित हुलाकी राजमार्ग निर्माणमा भारतीय सरकारको पनि चासो रहेको बताउँदै आउँदो एक वर्षभित्र हुलाकी सडक सम्पन्न गर्न जोड दिने बताए ।

नेपाल–भारत मैत्री युवा सङ्घका अध्यक्ष तथा सांसद महेन्द्र यादवको अध्यक्षतामा भएको स्वागत एवम् सम्मान कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका सांसद डा. विजयकुमार सिंह, दिनेशप्रसाद साहसहितका वक्ताले नेपाल र भारतको सम्बन्धलाई अझ अघि बढाउनुपर्नेमा जोड दिनुभयो । रासस