राष्ट्रपति भण्डारी पाँचदिने औपचारिक भ्रमणमा आज बैंकक जाँदै

राष्ट्रसंघीय वैशाख सम्मेलनमा भागलिन भोली श्रीलंका पुग्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज श्रीलंका र थाइल्यान्डको पाँचदिने औपचारिक भ्रमणमा जाने भएकी छन् । उनी आज थाइल्यान्ड बस्ने र भोली (शनिबार) बिहान श्रीलंका पुग्ने गरी जान लागेकी हुन् ।

राष्ट्रपति भण्डारी आज थाइल्यान्डका राजासँग बैंककमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । थाइल्यान्डमा राष्ट्रपतिले बैंककको ग्रान्ड प्यालेसमा राखिएको स्वर्गीय थाई राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्ने भएकी छिन ।

गत असोजमा थाइल्यान्डका राजाको निधन भएको थियो । उनको आगामी कात्तिकमा अन्त्येष्टि हुने भएको छ ।

श्रीलंकाली समकक्षी मैत्रीपाला सिरिसेनाको निमन्त्रणामा राष्ट्रपति भण्डारी बुद्धजयन्तीका अवसरमा भोली श्रीलंका सरकारले मनाउन लागेको ‘संयुक्त राष्ट्रसंघीय वैशाख सम्मेलन’को प्रमुख अतिथि हुनेछिन् ।

राष्ट्रपतिसँगै प्रशासनमन्त्री केशवकुमार बुढाथोकी, परराष्ट्रसचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका परराष्ट्र मामिलाविज्ञ डा. मदनकुमार भट्टराई, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, शिष्टाचार महापाल दीपक अधिकारीलगायत जाने तय भएको छ ।