संविधान सिध्याउनका लागि निर्वाचनमा सहभागी भएको नेता गजुरेलले गरे खुलासा

नयाँ जनवादी क्रान्ति पूरा गर्ने दिशामा पार्टी सक्रिय रहेको दाबी

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले आफूहरु संविधान सिध्याउनका लागि स्थानीय तहको निर्वाचनमा सहभागी भएको बताएका छन ।

आज बागबजारस्थित होटल हार्दिकमा देशभक्त जनगणतान्त्रिक मोर्चाद्धारा आयोजित अन्तक्रिया कार्यक्रममा बोल्दै नेता गजुरेलले त्यसतो बताएका हुन ।

नेता गजुरेलले अहिलेको संविधान अस्वीकार गरेर निर्वाचनमा सहभागी हुने दलहरु मध्य देशभक्त जनगणतान्त्रिक मोर्चा एक्लो पार्टी भएको बताएका छन ।

नेता गजुरेलले भने–‘हामी स्थानीय निर्वाचनमा संविधान मानेर आएको भनेर हल्ला फैलाइएको छ, त्यस्तो भ्रममा नपर्नुहोला, हामी त यो संविधानलाई यही व्यवस्थाभित्र र बाहिर दुवैतिरबाट सिध्याउनका लागि निर्वाचनमा सहभागी भएका हौं ।’

गजुरेलले स्थानीय तहको निर्वाचनमा आधा जित गरिसकेको दाबी गरेका छन् । अहिलेको निर्वाचनबाट आफूहरु सत्ता प्राप्ति हुन्छ भन्ने भ्रममा नरहेका कारण स्थानीय निर्वाचनमा गएर क्रान्तिका कमाण्डरहरु तयार पार्ने योजना अनुसार निर्वाचनमा गएको गजुरेलले बताए ।

नेता गजुरेलले भने–‘हामीले निर्वाचनको आधा हिस्सा जितिसकेका छौं, अब जनताले आफ्ना प्रतिनिधिका रुपमा चुनेमा जनताको काम गर्छौ, नजितेमा उनीहरुलाई नै क्रान्तिको कमाण्डर बनाएर नयाँ जनवादी क्रान्ति पूरा गर्ने दिशामा अघि बढ्छौं । अहिलेको संविधान नमान्ने र क्रान्तिको पक्षमा रहेको शक्ति निर्वाचनमा भाग लिएको भए पो भोट बाँडिन्छ ।’

नेता गजुरेलले संविधान सभा बहिस्कार गरेर पनि स्थानीय निर्वाचनमा सहभागी भएको भनेर विभिन्न पक्षबाट आलोचना गर्नुको कुनै अर्थ नरहेको स्पष्ट पारे ।

उनले विकासका नारा अहिलेभन्दा बढी पञ्चायतले लगाएको, त्यसपछि बहुदलीय व्यवस्थामा दलहरुले त्यसैलाई नक्कल गरेको उल्लेख गर्दै नारा लगाउँदैमा देश विकास नहुने बताए ।

व्यवस्था परिवर्तन नभएसम्मम जनताले चाहेअनुसारको विकास, शान्ति र समृद्धि नआउने उल्लेख गर्दै उनले परिवर्तनको पक्षमा मतदान गर्न आम जनतालाई आग्रह गरे ।

अहिलेको राजनीतिक व्यवस्था गणतन्त्र, या लोकतन्त्र नभई निरंकुश तन्त्र, लुट तन्त्र, ठग तन्त्र भएको उल्लेख गर्दै सुशीला कार्की, नवराज सिलवालहरु त्यसैको शिकार भएको उनको टिप्पणी थियो ।

देश दिनदिनै अधोगतीतिर गइरहेका बेला निर्वाचनको माहौलको कुरा गर्नु बेठिक भएको भन्दै उनले देशको चिन्ता नगरी चुनाव र सत्ताको चिन्ताका लागि भएको निर्वाचनको माहोलको अर्थ नहुने बताए ।