‘मेरो मत अमूल्य छ’नारा सहित चुनाव बोकेर गुड्यो साझा यातायात

कर्मचारीहरु मतदान केन्द्रमा पुगिसकेको आयोगको जानकारी

काठमाडौँ । स्थानीय तहका मतदानको दिन नजिकिँदै गर्दा ‘मेरो मत अमूल्य छ’ भनी लेखिएको निर्वाचनको सन्देश बोकेका साझा बस राजधानीका सडकमा गुड्न थालेका छन् ।

कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले साझा बसमा निर्वाचन आयोगको लोगो अङ्कित झन्डा फहराएर आज साझा यातायातमार्फत निर्वाचनको सन्देश प्रचारप्रसार शुभारम्भ गरेका हुन ।

साझा बसका २३ वटा गाडीमा यस्ता स्टिकर टाँसिएको निर्वाचन आयोगले जनाएको छ । गाडीमा टाँसिएका स्टिकरले मतदातालाई आफ्नो अमूल्य मतको महत्व झल्काउनुका साथै मतदानका लागि प्रेरित गर्ने विश्वास गरिएको छ । पछिल्लो समय यात्रुमा साझा बस लोकप्रिय बन्दै गएको छ ।

कार्यक्रमपछि पत्रकारसँग कुराकानी गर्दै प्रमुख आयुक्त डा यादवले पहिलो चरणको निर्वाचनमा खटिएका कर्मचारी आजबाट सबै मतदान केन्द्रमा पुगिसकेको जानकारी दिए ।

प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहका छ हजार ६४२ मतदान केन्द्रमा मतदान अधिकृतको टोलीले आजदेखि शनिबारसम्म मतदाताको परिचयपत्र वितरण गर्ने उनले जानकारी दिए ।

पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार ९२५ मतदाता कायम भएको हुँदा निर्वाचन अधिकतले स्थानीयस्तरमा राजनीतिक दलसँग समन्वय गरी मतदानस्थल र मतदान केन्द्रको निर्माणको कार्य पनि सुरु गरिसकेको बताए । रासस