प्रचण्ड र देउवा प्लेनको एउटै सिटमा बसेर भरतपुर प्रस्थान

केहिबेरमा अध्यक्ष ओली पनि चितवन जाँदै

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न प्लेनको एउटै सिटमा बसेर भरतपुरतर्फ प्रस्थान गरेका छन ।

चितवनको भरतपुर महानगरपालिका स्थित प्रहरी कार्यालय नजिकै रहेको चौरमा दुई पार्टीद्धारा संयुक्त रुपमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड र देउवाले त्यहाँ प्रस्थान गरेका हुन् ।

भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएकोपछि आफ्ना साझा उम्मेदवारलाई जिताउन सत्ता गठबन्धनका मुख्य ठूला दलका शिर्ष नेताहरुले बुद्ध एयरको एउटै सिटमा बसेर यात्रा गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस माओवादीको साझा उम्मेदवारका माओवादीकी नेतृ रेणु दाहाल र उपमेयरमा कांग्रेसकी नेतृ पार्वती शाह रहेका छन् । माओवादी कांग्रेसको यस्तो चुनावी तालमेलबाट एमालेलाई हैरानी भएको स्थानीय नेताहरुले बताएका छन ।

केहि दिनअघि भरतपुरमा चुनावी तालमेल गर्न नहुने भन्दै कांग्रेस कार्यकर्ताहरुले देउवाको पुत्ला जलाएको र त्यहाँ साझाँ उम्मेदवारमाथि घात हुनसक्ने देखिएकाले दुई शिर्ष नेताहरु आफै गएर पार्टीका नेता,कार्यकर्ताहरुलाई तालमेलका आधारमा मतदान गर्न निर्देशन दिने बताइएको छ ।

पोखरामा कांग्रेसका उम्मेदवारलाई जिताउन माओवादीले सहयोग गर्ने र चितवनमा कांग्रेसले माओवादी अध्यक्ष एवं प्रधानमन्त्री दहालकी पुत्री रेणुलाई साझा उम्मेदवारका रुपमा जिताउन सघाउँने केन्द्रीय तहको सहमतिलाई लागु गराउने योजना अनुसार आजको चितवन सभाको कार्यक्रम आयोजना गरिएको नेताहरु बताउँछन ।

चुनावी तालमेल भएपनि एउटा पार्टीले अर्को पार्टीलाई भोट नदिने संकेत पाएपछि प्रचण्ड र देउवाको संयुक्त सम्बोधन कार्यक्रम तय गरिएको दुबै पार्टीका नेताहरुले आफ्ना उम्मेदवारलाई जिताउन मञ्चबाटै कार्यकर्ताहरुलाई निर्देशन दिने बताइएको छ ।

उता माओवादी कांग्रेसले चुनाव प्रचारको अन्तिम दिन पारेर सभा गर्न थालेपछि त्यसको काउन्टरमा एमालेले पनि चुनावी सभाको कार्यक्रम राखेको छ । एमालेको उक्त सभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओली पनि केहिबेरमा चितवन तर्फ प्रस्थान गर्दैछन ।